‘बुद्ध वाज बर्न इन नेपाल’ सन्देश लिएर सगरमाथा चढ्दै दोलखाली छोरी

 आवाज संवाददाता     ७ माघ २०७४, आईतवार

दोलखा, माघ ७

गौतम बुद्धको बारेमा विश्वमै फैलिएको भ्रम चिर्न दोलखाली छोरी छोकी शेर्पा सगरमाथा आरोहण गर्न लागेकी छन् ।
दोलखा गौरीशंकर गाउँपालिका ९ सिमीगाउँकी २७ वर्षीया छोकी शेर्पाले दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बुद्ध वाज बर्न इन नेपाल’ को सन्देश लिएर सगरमाथा आरोहण गर्ने बताइन् । उनलाई साथ दिँदैछिन्, काभ्रेपलाञ्चोककी शर्मिला लामाले ।
वैदेशिक रोजगारीको सिलसिलामा पाँच वर्ष दक्षिण कोरिया बसेर आएकी छोकीले त्यहाँ बुद्धबारेको भ्रम सुनेकी थिइन् । विभिन्न देशबाट रोजगारीमा आएका साथीहरुले बुद्ध भारतमा जन्मिएको कुरा बताएपछि उनी आश्चर्यमा परेकी थिइन् । साथीहरुले उनलाई उनीहरुको देशको विद्यालय पाठ्यक्रममै बुद्ध भारतमा जन्मिएको उल्लेख भएको बताएका थिए । उनी स्वदेश फर्किएपछि बुद्धको विषयमा संसारमा छरिएको भ्रम चिर्न र सगरमाथाबाट संसारलाई ‘बुद्ध वाज बर्न इन नेपाल’ को सन्देश दिन सगरमाथा चढ्न लागेको बताइन् ।
पाएनियर एड्भेन्चर प्रालिको ब्रान्ड स्पोन्सरमा आगामी चैत २५ गते सगरमाथा आरोहण गर्ने उनीहरुको योजना छ । सो क्रममा उनीहरुले सगरमाथा शिखरमा धिरज राइले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गति एक मिनेट बजाएर विश्वलाई सुनाउने छन् ।
वैदेशिक रोजगारीबाट अनुभव लिएर फर्किएकी छोकीले पर्यटन विकासको माध्यबाट नेपालमै केह गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफू सगरमाथा आरोहण गर्न लागेको बताइन् । उनले पर्यटनको क्षेत्रमा खासगरी महिलाहरुले धेरै काम गर्न सक्ने भएकाले आफू सगरमाथा आरोहणबाट फर्किएपछि सोही क्षेत्रमा काम गरी देखाउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
दोलखा सिमीगाउँको सामान्य परिवारमा जन्मिएकी छोकीले सगरमाथा आरोहण आर्थिक रुपमा अत्यन्त महँगो भएकाले उनको अभियानमा सहयोग गर्न सम्बद्ध सबै पक्षसँग आग्रह पनि गरेकी छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।