पुनर्निर्माणका लागि विश्व बैंकसँग ४४ अर्बको ऋण सम्झौता

 आवाज संवाददाता     ८ माघ २०७४, सोमबार

पुनर्निर्माणका लागि विश्व बैंकले दिने ४४ अर्ब रुपैयाँको ऋण सम्झौता भएको छ । भूकम्पपछिको आवास पुनर्निर्माण, घरपालुवा जनावरको नवप्रवर्तन र प्राविधक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने ऋण लगानी गरिने विश्व बैंकले जनाएको छ । तीन कार्यक्रमका लागि छुट्टाछुट्टै सम्झौता भएको हो ।

आइतबार अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र विश्व बैंकका नेपाल निर्देशक क्विमिआव फ्यानबिचले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष एनेट डिक्सनको उपस्थिति थियो ।

तीनमध्ये पहिलो सम्झौताअनुसार विश्व बैंकले भूकम्पपीडितको आवास पुनर्निर्माण परियोजनाका लागि ३० करोड अमेरिकी डलर (३० अर्ब रुपैयाँ) प्रदान गर्नेछ ।

यसअघि सन् २०१५ मा विश्व बैंकले २० अर्ब रुपैयाँ ऋण प्रदान गरेको थियो । विश्व बैंकले पुनर्निर्माणका लागि ५० अर्ब रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता भूकम्पलगत्तै नेपाल सरकारले आयोजना गरेको पुनर्निर्माण सम्मेलनमा गरेको थियो ।

भूकम्पलगत्तै नेपाल सरकारले ५ लाख घरपरिवारलाई आवास निर्माण अनुदान दिनुपर्ने अनुमान गरेकोमा त्यो बढेर ६ लाख ५० हजार पुगेको तथा पहिलो २ लाख रुपैयाँ अनुदान दिने भनिएकोमा त्यसलाई ३ लाख पु¥याइएको थियो । त्यसो गर्दा आवास निर्माण अनुदान रकम १ खर्ब २० अर्ब रुपैयाँ अपुग देखिएकोमा त्यो खाडल पुर्न यो सहयोगले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

घरपालुवा पशुपक्षीको नवप्रवर्तन परियोजनाका लागि विश्व बैंकले ८ अर्ब रुपैयाँ प्रदान गर्ने सम्झौतासमेत भएको छ । यो परियोजनाले नेपाल सरकारको कृषि विकास रणनीतिलाई सघाउ पुर्‍याउनेछ । त्यस्तै, व्यावसायिक शिक्षा तथा तालिम कार्यक्रमका लागि प्रदान गरिने ६ अर्ब रुपैयाँले युवाहरूको सीप विकासमा सहयोग गर्नेछ ।

विनासीप आन्तरिक वा बाह्य श्रम बजारमा प्रवेश गर्ने युवाहरूलाई सीपयुक्त बनाउने र रोजगारी दिलाउन मद्दत गर्ने गरी यो परियोजना विकास गरिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले नेपाललाई प्रदान गरेको सहयोगको उपयोगमा नेपालले राम्रो प्रगति गरेको नेपाल निर्देशक फ्यानले जनाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF