६० वर्षदेखि सेवामा ८१ वर्षे हवाइ सुन्दरी
आवाज संवाददाता ८ माघ २०७४, सोमबार
उनले हवाइ परिचारिकाको काम राष्ट्रपति ड्वाइट आइजनहावर हुँदा सुरु गरेकी थिइन्। अहिले यो पेसा अपनाएको ६० वर्ष पूरा भएको छ र उनी ८१ वर्ष पुगेकी छन्। अझै सेवानिवृत्त हुने उनको कुनै योजना छैन।
उनी हुन् अमेरिकन एयरलाइन्सकी विमान परिचारिका बेट्टी नास। सन् १९५७ मा यो पेसामा प्रवेश गरेकी उनी अझै पनि ३० हजार फिटमाथि आफ्नो खतरनाक मुस्कान छरिरहेकी छन्।
तीन दिदीबहिनीमध्ये सबैभन्दा जेठी नास न्यु जर्सीको एटलान्टिक सिटीमा हुर्केकी थिइन्।
यसबीचमा उनले इस्टर्न एयरलाइन्स, युएस एयरवेज र ट्रम्प सटलमा पनि काम गरिन्।
१० वर्षअघि उनको सेवाले ५० वर्ष पूरा गरेको अवसरमा जल सलामी दिइएको थियो। त्यसबेला अर्को १० वर्ष सेवामा रहन्छुहोला भन्ने उनलाई लागेको थिएन।
पाइलटका लागि अनिवार्य अवकाशको समय ६५ तोकिएको छ। तर विमान परिचारिकाहरुका लागि त्यस्तो कुनै नियम छैन। त्यसैले नास अझै उडिरहेकी छन्।
उनले विभिन्न रुटमा काम गरिन्, तर डिसीबाट बोस्टनसम्मको यात्रा उनलाई सबैभन्दा मनपर्ने रुट हो।
आफूले सेवा सुरु गर्दा र अहिलेको उडानमा आकाशपातालको फरक रहेको उनी सम्झिन्छिन्। ‘त्यसबेला प्लेन चढ्नु आफैँमा विलाशिता थियो, र खटाइ पनि चर्को थियो। विमानमा म एक्लै हुन्थेँ र सबैको ख्याल राख्नुपथ्र्यो,’ उनी भन्छिन्।
त्यसबेला विमान परिचारिकाका लागि निश्चित उचाइ र तौल आवश्यक पथ्र्यो, अहिले त्यो छैन। तर पहिरन चाहिँ एयरलाइन्सकै निर्देशनमा लगाउनुपर्छ।’
उनका एक छोरासँग बस्छिन्, जसलाई डाउन सिन्ड्रोम भएको छ।
यो उद्योगमा उनी ‘सेलिब्रेटी’ हुन्। उडान सेवामा रहेकाले मात्र होइन, अनगिन्ती यात्रुले पनि उनलाई चिनेका छन्।
आफ्नो शरीर र स्वास्थ्यले साथ दिए उनी अझै लामो समय सेवामा रहने बताउँछिन्। एजेन्सी
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।