माथिल्लो तामाकोसी आयोजना समयमा नसकिने जोखिम

 आवाज संवाददाता     ११ माघ २०७४, बिहीबार

भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा माथिल्लो तामाकोसी जलिवद्युत् आयोजना समयमै सम्पन्न नहुने जोखिम बढेको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् आगामी मंसिरबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने योजना छ । तर, भारतीय कम्पनी टेक्सम्याको रेल्ल एन्ड इन्जिनियरिङले निर्धारित समयमा काम नगर्दा आयोजना सम्पन्न हुन कठिन हुँदै गएको हो ।

 

टेक्सम्याकोको मुख्य काम हाइड्रो मेकानिकलतर्फ बाँधस्थलको गेट हबसम्बन्धी काम र पेनस्टक पाइप ढुवानी र जडान गर्ने हो । आयोजनाको निर्माण कार्य ९४ प्रतिशत सम्पन्न भइसक्दा पनि भारतीय ठेकेदार कम्पनीले लट २ अन्तर्गत ठेक्काको ४० प्रतिशत पनि काम गर्न नसक्दा समयमा आयोजना सम्पन्न नहुने निश्चितजस्तै भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । आयोजनाको सुरुङ र पावरहाउसको कंक्रिटिङ, टर्बाइन जडान, सुरुङभित्र स्टिल लाइनिङको काम कार्यतालिकाअनुसार अगाडि बढेको छ ।

आयोजनाको ४ वटा प्याकेजमा भइरहेका काममध्ये दोस्रो प्याकेजको जिम्मा टेक्सम्याकोले पाएको छ । कम्पनीले दोस्रो प्याकेजअन्तर्गत हालसम्म दुईवटा ठाडो सुरुङमा पेनस्टक पाइप बिच्छ्याइसक्नुपर्ने आयोजनाको लक्ष्य भए पनि कम्पनीले अहिलेसम्म पेनस्टक ढुवानीको काम नै सकेको छैन । ०७१ मा नै कम्पनीले पेनस्टक पाइपको ढुवानी सक्नुपर्ने भए पनि हालसम्म पनि ढुवानीको कामसमेत गर्न सकेको छैन । ठेकेदार कम्पनीले दुईवटा ठाडो सुरुङसहित ९ सय मिटर पेनस्टक जडानको काम अझै सुरु गर्न सकेको छैन । न्यौपानेले भने, ‘हामीले पटक–पटक खबरदारी गरिरहेका छौँ, तैपनि उल्लेख्य प्रगति हुन सकेको छैन ।’ कम्पनीले बारम्बार बाटोको समस्यालगायत कारण देखाइरहेको र हाल बाटोको कुनै समस्या नरहेको न्यौपानेको भनाइ छ ।

ढुवानीलाई नै ९ सय ६ दिन
सुरुङमा प्रयोग हुने पेनस्टक पाइप ५ मिटरदेखि ७ मिटरसम्मका छन् । सामान्यतया दुईवटा पेनस्टक सुरुङभित्र लगेर जोड्न कम्तीमा १५ देखि २१ दिन समय लाग्छ । ५ मिटर लम्बाइ र ३ दशमलव ६ मिटर गोलाइ भएका जडान गर्नुपर्नेे १६० वटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा ४१ वटा मात्र ढुवानी गरेको छ । कम्पनीले ३ वटा गाडीले मात्र ढुवानी गरिरहेकोे छ । टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोसीसम्म पाँच दिन र सुनकोसीबाट आयोजनास्थल लामाबगरसम्म करिब १२ दिन लगाएर ढुवानी गर्ने गरेको छ । यही अनुपातमा हिसाब गर्ने हो भने कम्पनीले ढुवानी गर्नका लागि मात्र ९ सय ६ दिन अर्थात् अढाई वर्ष लगाउने देखिन्छ । आयोजना व्यवस्थापनले निरन्तर ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आलटाल गर्दा समय धेरै गुज्रिने दखिएको हो । केही अघि विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबाट गएको उच्चस्तरीय टोलीले सो कम्पनीको काम त्यति चित्तबुझ्दो नरहेको बताएको छ ।

दुई महिनाअघि ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले समयसीमाभित्र काम सम्पन्न गर्न आयोजना प्रमुख र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । उच्चस्तरीय टोलीले सबै निर्माण व्यवसायीको कार्यशैली र कार्यक्षमता उच्चगतिमा परिचालन गर्नुपर्ने भन्दै भारतीय कम्पनीले काम ढिलो गरेको बताएका थिए । सरकारले आयोजना निर्माणका लागि अत्यावश्यक सम्पूर्ण स्रोत–साधन र बजेट समयमा नै उपलब्ध गराएको भन्दै कुनै पनि हालतमा काम नरोक्न यसअघि नै प्राथमिकतामा राखेको छ ।

ढिलाइमा आयोजनाकै उच्च व्यवस्थापनको मिलेमतो
टेक्सम्याको रेल एन्ड इन्जिनियरियङले चैत ०७१ भित्रै सम्पूर्ण उपकरणको ढुवानी गरिसक्ने सम्झौता भए पनि कम्पनीले अहिलेसम्म उपकरण ढुवानी गर्न नसक्नु शंकास्पद रहेको आयोजनाका एक अधिकारीले बताए । उनका अनुसार कम्पनीलाई समयमा उपकरण ढुवानी नगर्दा पनि व्यवस्थापन पक्षले उल्टै प्रोत्साहन गरेको र आयोजनाको समय लम्ब्याउन सहयोग गरेको भए पनि कारबाहीका लागि कुनै प्रक्रिया अगाडि बढेको छैन । तामाकोसीको समय र लागत बढ्नुमा आयोजनाका जिम्मेवार कर्मचारीकै गलत मनसायले काम गरेको उच्च स्रोतले बतायो । टेक्सम्याकोले समयमा उपकरण ढुवानी नगरेपछि कारबाही प्रक्रिया सुरु गर्नुको साटो थप प्रोत्साहन गरिनु व्यवस्थापनको शंकास्पद कदम भएको स्रोतको भनाइ छ । यसअघि कम्पनीले भूकम्प र नाकाबन्दीको बहानामा उल्टै आयोजनाको समय लम्ब्याउन बहाना गरिरहेको थियो ।

नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।