अब भट्टेडाडाबाट नेपाली आकाशको अनुगमन
आवाज संवाददाता ११ माघ २०७४, बिहीबार
जापान सरकारको सहयोगमा ललितपुरको भट्टेडा“डामा जडित ‘इन–रुट मोनोप्लस सेकेन्डरी सर्भिलियन्स राडार (एमएसएसआर)’ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित टर्मिनल मोनोप्लस सेकेन्डरी सर्भिलियन्स राडार (टिएमएसएसआर) सञ्चालन गर्न लागिएको छ । अब त्रिभुवन विमानस्थलमा झन्डै २० वर्षदेखि सञ्चालनमा रहेको पुरानो टर्मिनल सर्भिलियन्स राडारलाई यस प्रणालीको राडारले विस्थापित गर्नेछ ।
राडारको सफल परीक्षणपछि १८ माघ (१ फेबु्रअरी २०१८) बाट पूर्ण सञ्चालनमा ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
नेपालमा पहिलोपटक इन–रुट मोनोप्लस सेकेन्डरी सर्भिलियन्स राडार (एमएसएसआर) सञ्चालन हुन लागेको हो । अहिले त्रिभुवन विमानस्थलभित्र उडान र अवतरणका क्रममा रहेका जहाजको मात्र निगरानी गर्न सक्ने टर्मिनल सर्भिलियन्स राडार सञ्चालनमा छ ।
अहिले त्रिभुवन विमानस्थलमा सञ्चालनमा रहेको राडार प्राइमरी सर्भिलियन्स प्रणालीको राडारले जहाजको दूरी र दिशा मात्र देखाउँछ । सेकेन्डरी सर्भिलियन्स प्रणालीको राडारले दूरी, दिशा र उचाइसमेत स्पष्ट देखाउँछ । यसबाट जहाजको पहिचानसमेत गर्न सकिन्छ ।
यस राडारको सहयोगमा विमानस्थलबाटै कुन जहाज, कति उचाइमा, कति गतिमा उडिरहेको छ भन्ने पत्ता लगाउन राडारले दिने संकेत उपयोग गरिने उनीहरूको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भट्टेडाँडामा नयाँ प्रणालीको राडार जडानमा झन्डै १ अर्ब रुपैयाँ लगानी गरिएको छ । कठायतका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब ९० करोड ७० लाख र बाँकी रकम प्राधिकरणबाट लगानी गरी राडार जडान गरिएको हो । १४ चैत २०६९ मा जाइका र अर्थ मन्त्रालयबीच अनुदान सहयोग सम्बन्धमा सम्झौता भएको थियो ।
राडार जडानको काम भने असोज २०७३ मै सम्पन्न भएको थियो । नेपाली आकाशलाई अझ सुरक्षित र भरपर्दो बनाउन यो आयोजना फलदायी हुने अपेक्षा लिइएको नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बताए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका मुख्य प्रतिनिधि जुन सकुमाका अनुसार जाइकाले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सन् १९८८ देखि निरन्तर सहयोग गरिरहेको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।