बाँदरमुढे घटनामा मारिएका ३८ सहित ५६ जनालाई सहिद घोषणा

 आवाज संवाददाता     १२ माघ २०७४, शुक्रबार

सरकारले माओवादी द्वन्द्वको समयमा चितवनको बाँदरमुढे  घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। ०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबस एम्बुस विस्फोटमा पर्दा ३८ जनाको मृत्यु भएको थियो।

यस्तै, मन्त्रिपरिषद्को बैठकले युद्धकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही माओवादीबाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि सहिद घोषणा गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

सरकारले युद्धकालमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजंग पाण्डे, हिकमतबहादुर भण्डारी, मित्रबहादुर दनुवार, छत्रबहादुर गिरी, सुनसरीका ब्रमदेव उराव, छत्र खतवे र खोटाङका कालुमान गुरूङलाई  पनि सहिद घोषणा गर्ने निर्णय गरेको छ।

बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नम्बर १२ गोलगोल खाँडा भन्ने ठाउँलाई तोकेको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF