सहुलियत दरको ऋण उपलब्ध गराउन प्राधिकरणको निर्देशन

 आवाज संवाददाता     १३ माघ २०७४, शनिबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार भूकम्पपीडितमध्ये ६५९ पीडितले मात्र यो सुविधा पाएका छन् ।

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैंकमा सार्वजनिकरुपमा टाँस गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले ऋणको ब्याज सरकारले दिने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पीडितलाई ऋण दिँदा दुई प्रतिशत ब्याजबाहेक अन्य रकम लिन नपाउने व्यवस्था कार्यविधिमा गरिएको बताए ।

बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सरकारसँग भएको सम्झौताअनुसार उपत्यकाका भूकम्पपीडितका लागि रु २५ लाख र बाहिरका पीडितका लागि रु १५ लाख नदिने बैंकलाई कारबाही गरिने प्रतिबद्धता जनाए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।