नागरिक दवावपछि सातदोबाटो सडक सुधार हुँदै

 आवाज संवाददाता     २१ असार २०७३, मंगलवार

दोलखा, २१ असार/सातदोबाटो सडक विस्तार कार्य ठेकेदारले अलपत्र छाडेको भन्दै नागरिक समाज आन्दोलित भएपछि डिभिजन सडक कार्यालय, चरिकोट र ठेकेदारले सुधारको काम सुरु गरेका छन् ।
नागरिक समाजको कडा दवावका कारण डिभिजन सडक कार्यालय र ठेकेदारले रातिदेखि नै काममा तीव्रता दिएका हुन् । नागरिकहरुको दुई दिनअघि सुरु भएको आन्दोलनले २४ घण्टे अन्तिमेत्थम् दिएपछि सामान्य रुपमा सडक सुधारको काम सुरु गरेकोमा हिजो डिभिजन सडक कार्यालयमा तालाबन्दी र सडकमै रोपाइँ गरेपछि गए रातिदेखि नै काममा तीव्रता दिएका हुन् ।

IMG_20160705_152001
हिलाम्मे सडकलाई अहिले ग्राभेल हालेर हिँड्न र सवारी गुडाउन योग्य बनाइँदै छ । डिभिजन सडक कार्यालयको पहलमा र ठेकेदारसँगको समन्वयमा काम भैरहेको डिभिजन सडक कार्यालयका प्रमुख अशोक तिवारीले बताए । ठेकेदारले ल्याएको माल (ग्राभेल) कार्यालयको उपकरणले हाल्न सुरु गरेको र यो कार्यमा ठेकेदारका उपकरण र मानिसहरु पनि प्रयोग भएको प्रमुख तिवारीले जानकारी दिए । उनले भने, ‘यो स्थायी चाहिँ हुँदैन । पानी परेपछि फेरि हिलो आउन सक्छ, तर हामी यसलाई निरन्तर मर्मत गरिराख्छौँ ।’ यसका स्थायीत्वका लागि नाला बनाउन लागिएको पनि उनले बताए ।

IMG_20160705_152205

सातदोबाटो आसपासका १ किलोमिटर सहरी सडक निर्माणको ठेक्का पाएको लोहनी ब्रदर्श–स्काई बिल्डर्स जेभीले काम नगर्दा सडक अलपत्र छ । लामो समयसम्म काम नगरी अलपत्र छाडेपछि सडक विभागले सम्बन्धी निर्माण फर्मलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको थियो । तर भीमेश्वर नगरपालिकाका मुख्य राजनैतिक दलका नेताहरु आफैं उपस्थित भएर ६ महिना म्याद थप्ने निर्णय गरेको थिए । काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा म्याद थप गर्ने निर्णय गरेर संरक्षण गरेको भन्दै नागरिक समाज आन्दोलित भएको हो ।
दलका प्रतिनिधिको उपस्थितमा भएको बैठकले ३ दिनभित्र ठेकेदारले कार्ययोजना पेश गर्ने, कात्तिक मसान्तभित्र पीच सक्ने र पुस मसान्तभित्र सम्पूर्ण काम पूरा गर्ने सहमतीजन्य निर्णय भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।