सांसद खड्का चढेको गाडी क्षमावतीमा दुर्घटना

 आवाज संवाददाता     १५ माघ २०७४, सोमबार

दोलखा, १४ माघ
दोलखा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सांसद विशाल खड्का चढेको गाडी भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पाक्षमावतीमा दुर्घटना भएको छ । आइतबार साँझ कालिञ्चोक गाउँपालिका वडा नं. ३ र गौरीशंकर गाउँपालिका वडा नं. २ जोड्ने पिखुतीमा निर्माणाधिन पक्कि पुलको निरीक्षणपछि चकिोट फर्कदा दुर्घटनामा परेको हो ।
डिभिजन सडक कार्यालय चरिकोटको बा १ ख ९२१३ नं. गाडी साँझ घुम्ती मोडेर कालोपत्रे गर्न सुरु गरेको चिप्समा चिप्लीएर भित्तामा पल्टिएको हो । दुर्घटनामा गाडीको अगाडीको भाग र दायाँ भाग सामान्य क्षति भए तापनि गाडीमा सवार सबै सकुसशल रहेका छन् ।
गाडीमा सांसद खड्का सहित पत्रकार दिलबहादुर केसी, डिभिजन सडक कार्यालयका इन्जिनियर कमल शाह र ड्राइभर थिए ।

पुलको काम ढिला हुँदा निरीक्षण
एक वर्ष अघि नै पूरा हुनु पर्ने पूल पूरा नभएपछि सांसद खड्का सहितको टोली आइतबार निरीक्षणका लागि पिखुती पुगेको थियो । जिल्ला समन्वय समिति दोलखाले नवनिर्वाचित सांसदहरुसँग दोलखाका कार्यालय प्रमुखहरुसँग परिचायत्मक कार्यक्रम र दोलखाको विकासे योजनाको समिक्षापछि दिउँसो ३ बजे चरिकोटबाट पिखुती तर्फ गएको थियो ।
पुल निर्माणमा ढिलो भएको जनगुनासो बढेपछि सांसद खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्का, विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्का, गौरीशंकर गाउँपालिका वडा नं. १, २ र ३ का वडाध्यक्षहरु क्रमशः झलककुमार कार्की, बसन्त कार्की र नेत्रबहादुर बस्नेत सहित सयौंका संख्यामा जुगू र झ्याँकूका स्थानीयहरु पुल निर्माणस्थल पिखुतीमा भेला भएका थिए ।
जुँगू र झ्याँकूलाई गौरीशंकर गाउँपालिकामा समेटेपछि गाउँपालिका केन्द्र सुरी जान असहज भएपछि स्थानीयहरु सरकारप्रति रुष्ट हुँदै आएका छन् । पिखुतीमा पुल बने केही रात पुग्ने भन्दै एक वर्षदेखि स्थानीयले स्थानीयस्तरमा केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुलाई दबाब दिंदै आएका छन् ।
आइतबार साँझ पुल निर्माणास्थल पुग्दा गत वर्षभन्दा पुलमा प्रगति नभएको देखिएको गाउँपालिका अध्यक्ष सोयम खड्काले बताए । निर्माण व्यवसायीको कोही प्रतिनिधि समेत फिल्डमा नभएको र काम गर्ने मान्छेसमेत नदेखिएकाले आवश्यक कदम चाल्न स्थानीयहरुले सांसद र सडक विभागलाई आग्रह गरे ।
पिखुतीमा निर्माणाधिन पुल २०७३ असारमा पूरा गर्ने गरी २०७० मा सम्झौता भएको हो । आर्क प्रकृतिको पुलको अहिले लामिडाँडातर्फको जिप पूरै उठाए तापनि जुँगू तर्फको जिप आधा मात्र उठाएको छ । समयमा काम पूरा नभएपछि एक वर्षका लागि म्याद थप भएको हो ।
म्याद थप भए तापनि पुलमा प्रगति हुन सकेको छैन । कन्काइ इन्टरनेशनल विल्डर्स प्रा.लि सुरुंगा झापाले ६ करोड ४९ लाखमा ठेक्का लिएको हो । पुलको लम्बाइ ६१ मिटर मात्र छ । पुल निरीक्षणपछि सांसद खड्काले पुल चाँडो पूरा गराउन वा विकल्पका बारेमा आफूले पहल गर्ने प्रतिबद्धता गरेर फर्किएका हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF