कृषि र पशुपालनलाई प्राथमिकता दिँदै भीमेश्वर नगरपालिका

 आवाज संवाददाता     १६ माघ २०७४, मंगलवार

दोलखा, माघ १६

कृषि र पशुपालन पेशालाई व्यवसायिक बनाउन भीमेश्वर नगरपालिकाले अनुदान दिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
भीमेश्वर नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय निकाय निर्वाचनपछि गरेको काम र भावी योजनाको बारेमा जानकारी गराउने क्रममा सो कुरा जानकारी गराएको हो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नगरपालिकाले गाई, भैँसी, कुखुरा, मौरीपालन तथा अलैँची र किवी खेती गर्ने कृषकहरुलाई अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ । विज्ञप्तिमा उच्च जातका दुईवटा गाई वा भैँसी पालन गर्ने लाई गोठ सुधारका लागि गाईभैँसी खरिदको १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ । त्यसैगरी कम्तीमा १५ वटा उन्नत जातको बाख्रा खरिद गरी व्यवसाय सुरु गर्नेलाई खोर निर्माण तथा सुधारका लागि ३० हजार रुपैयाँ अनुदान दिने पनि उल्लेख छ । कम्तीमा १५ वटा स्थानीय जातका माउ कुखुरा खरिद गरी १५० वटासम्म स्थानीय जातका कुखुरा पालन गर्न खोर तथा घेराबार निर्माणका लागि २५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको जनाइएको छ । २ देखि ५ वटा सम्म मौरीघार खरिद गरी मौरीपालन व्यवसाय गर्नेलाई प्रतिघार ४ हजार अनुदान दिने उल्लेख छ । त्यस्तै अलैँची खेतीको ड्रायर मेशिन खरिद तथा मर्मतका लागि प्रतिसमूह ५० हजार उपलव्ध गराइने र भीमेश्वर नगरपालिका वडा नं ७ र ८ मा किवी खेतीलाई प्रोत्साहन गर्न ५ बोट किवी विरुवा खरिद गर्नेलाई थप ५ बोट विरुवा अनुदान दिइने जनाइएको छ ।
भूकम्प पीडितलाई घर पुनःनिर्माणमा सजिलो होस भनेर नक्सापास प्रक्रियालाई सरल बनाएको विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि वडा कार्यालयमै निवेदन संकलन, वडा कार्यालयबाटै सर्जमिन र त्यसपछि नगरपालिकाबाट नक्सापास गर्ने व्यवस्था मिलाइएको छ ।
नगरपालिकाले १५५ वटा योजनाहरु उपभोक्ता समितिमार्फत गराउने गरी काम सुरु गरेको छ । तीमध्ये ४४ वटा योजनाहरु सम्झौता भै काम सुरु भएको, ३२ वटा योजनाहरु सम्झौताको चरणमा रहेको र ७९ योजनाहरुलाई सम्झौताको लागि माघ मसान्तसम्मको म्याद दिइएको विज्ञप्तिमा उल्लेख छ ।
नगरको मुख्य बजार क्षेत्र चरिकोट बजार र आसपासको क्षेत्रमा सरसफाइ तथा बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले चासो देखाएको छ । त्यसका लागि वजार व्यवस्थापन विरुद्ध हुने कार्यमा नगरपालिकाले प्रतिबन्ध समेत लगाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।