भीमेश्वर नगरपालिकाद्वारा राजपत्र जारी, १० विधेयक तयारीको चरणमा

 आवाज संवाददाता     १६ माघ २०७४, मंगलवार

दोलखा, माघ १६

भीमेश्वर नगरपालिकाले मङ्गलबार पहिलोपटक राजपत्र जारी गरेको छ । भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले पत्रकार सम्मेलनको आयोजना गरी जारी गरिएको राजपत्रको सार्वजनिक गरेका हुन् ,
जारी गरिएको राजपत्रमा ३ भाग रहेका छन् । पहलो भागमा ऐन रहेको छ भने दोस्रो भागमा नियमावली, कार्यबिधि, निर्देशिका, तथा मापदण्ड रहेका छन् त्यसैगरी तेस्रो भागमा आदेश तथा सूचनाहरु रहेका छन् ।
नगरपालिकाले निर्माण गरेका ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड र आदेश तथा सूचना प्रकाशनका लागि राजपत्र प्रकाशन गरिएको हो ।

नगरसभाको हिउँदे अधिवेशनमा १० ओटा विधेयक टेबल गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख केसीले जानकारी दिए । टेबल भएका विधेयकहरुमा आर्थिक कार्यविधिलाई नियमित तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७४, आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थित गर्न बनेको विधेयक, २०७४, आधारभूत स्वास्थ्य तथा सरसफाइ व्यवस्थित गर्न बनेको विधेयक, २०७४, औद्योगिक व्यवसाय दर्ता तथा सञ्चालनलाई व्यवस्थित गर्न बनेको विधेयक, २०७४, सहकारी व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक, २०७४, गैरसरकारी संस्थालाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक, २०७४, कृषि तथा पशु व्यवसायलाई प्रवद्र्धन गर्न बनेको विधेयक, २०७४, फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक, २०७४, भीमेश्वर नगरपालिका क्षेत्रभित्रका सडक व्यवस्थापन मापदण्ड, २०७४ तथा न्यायिक समिति कार्यविधि, २०७४ छन् ।

उल्लिखित विधेयकमध्ये फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक, फोहोरमैला व्यवस्थापन गर्न बनेका विधेयक, भीमेश्वर नगरपालिका क्षेत्रभित्रका सडक व्यवस्थापन मापदण्ड र सहकारी व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकमा छलफल भै पृष्ठपोषण प्राप्त भैसकेको प्रमुख केसीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।