प्रदेशसभा बैठक प्रदेश ३ मा आज

 आवाज संवाददाता     १८ माघ २०७४, बिहीबार

बहुप्रतीक्षित प्रदेशसभा बैठक प्रदेश ३ मा बिहीबार सुरु हुँदै छ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । दस वर्षअघि कागजी रूपमा कोरिएको संघीयता व्यवहारमै कार्यान्वयनमा आएको यो ऐतिहासिक क्षणको सांसद, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत समाजका सबै क्षेत्रका बासिन्दा प्रतीक्षारत छन् ।

बैठकमा भाग लिन १३ जिल्लाबाटै निर्वाचित सांसदहरू धेरैजसो हेटांैडा आइसकेका छन् भने कतिपय आउने क्रम जारी छ ।
२०६४ देखि सैद्धान्तिक रूपमा मुलुक संघीयतामा प्रवेश गरे पनि प्रदेश निर्वाचन सम्पन्न भएपछि व्यवहारमै यसको अभ्यास सुरु हुन लागेको हो । सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई तोकेपछि संसद् बैठकका लागि रातारात तयारी थालिएको थियो,

११० सदस्यीय प्रदेश सभामा एमालेको ५८ सिट छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।

नवौँ महाधिवेशनयता दुवै नेता माधव नेपाल खेमामा रहेकाले पाण्डे संस्थापनबाट अघि बढ्ने तयारीमा छन् ।

तर, संस्थापन पक्ष पाण्डेलाई अघि सार्ने कि चर्चामा रहेका सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल या केशव स्थापितलाई उम्मेदवार बनाउने टुंगोमा पुगिसकेको छैन ।

संस्थापनले कम्तीमा ३४ र नेपाल पक्षले २४ सांसद आफ्नो पक्षका रहेको हिसाब गरेको छ । पार्टी उपाध्यक्ष रहेकी, महिला, जनजातिका साथै पार्टीको प्रदेश सचिवालयले मुख्यमन्त्रीमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेकाले शाक्यका लागि चुनावमा सहजता पनि हुन सक्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।