थप एक लाख अनुदान भूकम्पपीडितले तत्काल नपाउने

 आवाज संवाददाता     १९ माघ २०७४, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले घोषणा गरेको थप एक लाख अनुदान भूकम्पपीडितले तत्काल नपाउने भएका छन् ।

यसअघि घोषणा भएको तीन लाख रुपैयाँकोलागि नै स्रोत पर्याप्त नभएको र नयाँ रकम बारे औपचारिक जानकारी नआएको भन्दै पुनर्निर्माण प्राधिकरणले तत्काल भूकम्पपीडितलले थप एकलाख चालू आर्थिक वर्षमा नपाउने बताएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो नेतृत्व लिएका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आफ्नो कार्यकालको एक सय दिनको प्रगति सार्वजनिक गर्दै सरकारले पीडितका लागि थप गरेको रकमबारे आफूलाई औपचारिक जानकारी नआएको बताएका छन् । भुषालले आफ्नो कार्यकालमा निजी आवास निर्माणमा देखिएको ढिलाईलाई व्यवस्थापन गर्न प्राविधिक कर्मचारीकोे व्यवस्थापनलाई प्राथमिकताका साथ काम गरेको बताएका छन् । उनका अनुसार दुर्गम क्षेत्रमा जान नचाहने कर्मचारीहरुलाई बिशेष भत्ता सहितको व्यवस्थापन गरिएको छ । हालसम्म ९५ हजार घर निर्माणसम्पन्न भएका र २ लाख ८३ हजार घर निर्माणधीन अवस्थामा रहेको बताइएको छ ।

भुषालले आफ्नो कार्यकालमा निर्माणकर्मीहरुको संख्यामा पनि अत्यधिक बृद्धि गरेको बताएका छन् । आफू प्राधिकरणको प्रमुख भएर आएपछि ५६ हजार निर्माणकर्मीका अतिरिक्त पुनर्निर्माणको प्रभावकारिताका लागि ३२ जिल्लाका २ सय ८२ स्थानीय तहका ४१ हजारभन्दा बढी स्थानीयलाई डकर्मीको तालिम दिएर पुनर्निर्माणमा लगाएको उनले जानकारी दिए ।

त्यसैगरी निर्माण सामग्रीको आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको भुषालले जानकारी दिए । जसअनुसार स्थानीय तहमा ढुंगा, गिट्टी बालुवा आपूर्ति सित्तैमा दिने, ठेक्का लागिसकेको अवस्थामा सहुलियत दरमा र आफ्नो भौगोलिक क्षेत्रमा उपलब्ध नभएमा छिमेकी स्थानीय तहसँग समन्वय गरी उपलब्ध गर्ने गरिएको जानकारी दिएका छन् । यस्तै काठको आपूर्तिका लागि वन तथा भूसंरक्षण मन्त्रालय र वन विभाग, सबै जिल्ला वन कार्यालयहरुसँग समन्वय गरिएको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF