ऊर्जामन्त्री थापाले भने माथिल्लो तामाकोसी समयमै पूरा हुन्छ

 आवाज संवाददाता     २३ माघ २०७४, मंगलवार

दोलखा, २३ माघ
उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले माथिल्लो तामाकोसी जलविद्युत आयोजना समयमै पूरा हुने बताए । ठेकेदार कम्पनीका कारण आयोजना समयमा पूरा नहुने हो कि भन्ने आशंका भइरहेका बेला मंगलबार आयोजना निरीक्षणमा आयोजनास्थल आएका मन्त्री थापाले आयोजना समयमै पूरा गरेर सफल पार्नु सबैको दायित्व भएको बताए ।
४५६ मेगावाटको निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । यो स्वदेशी लगानीमा निर्माणाधिन छ । ‘स्वदेशी लगानीमा निर्माणाधिन आयोजना नेपालकै लागि महत्वपूर्ण र मौलिक मोडेल हो’ उनले भने ‘यो आयोजना सफल पार्नु साझा कर्तव्य पनि हो ।’
निर्धारित समयमा आयोजना सफल बनाउन प्राथमिकता दिएर वास्तविक समस्या पहिचान गर्नका लागि पनि आफू स्थलगत निरीक्षणमा आएको बताए । आयोजनाको काममा विभिन्न समस्याहरु भएको बारेमा आफूलाई जानकारी भएको र त्यसका लागि ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले पनि प्राथमिकताका साथ पहल गरिरहेको जानकारी दिए ।
आयोजना निरीक्षणका सिलसिलामा चरिकोटमा संक्षिप्त पार्टी पत्रकार भेटघाटका क्रममा ऊर्जा मन्त्री थापाले आफू माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण, पार्टी कार्यकर्ता भेटघाट र धार्मिक भ्रमणका लागि दोलखा आएको बताए । आफ्नो कार्यकालको अन्तिम समय र व्यस्त समयका बाबजुद पनि आयोजनामा अहिले ठेकेदारले ढिलासुस्ती गरेका जस्ता आयोजनाको बारेमा आफूले पहल गर्ने बताए ।
भारती ठेकेदारले ढिलासुस्ती के कारणले गरेको हो, नियतबस आयोजनाल असफल पार्नकै लागि गरेको भए कुटनैतीक रुपमा समेत भारत सरकारसँग समेत कुराकानी गरिने बताए । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट २ को ठेकेदार भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड रहेको छ । उसले हाइड्रोमेकानिकल अन्र्तगत बाँधको गेट, स्पट, पेनस्टक पाइपको डिजाइन, उत्पादन, ढुवानी, जडान र परीक्षणको काम गर्ने गरी २०६८ फागुन १६ गते ठेक्का सम्झौता भएको हो ।
टेक्स्म्याकोले २०७२ बैशाखमा काम पूरा गर्नु पर्ने भए तापनि उसको पनि पहिलो पटक म्याद थप भएर २०७५ असारसम्म पु¥याएको छ । उसलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले २९ करोड २० लाख नेपाली रुपैंयामा र १ करोड ५ लाख ७४ हजार युरोमा भुक्तानी गर्नु पर्छ । तर उसले हालसम्म पेनस्टक पाइप आधा पनि आयोजनास्थल पु¥याएको छैन । जडानको काम सुरु मात्र गरेको छ । २०७५ असारबाट आयोजनाले पहिलो युनिट उत्पादन सुरु गरी २०७५ पुससम्म व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखे तापनि लट २ कै कारण लक्ष्य भेट्न मुस्किल पर्ने आशंका उत्पन्न भएको छ ।
आयोजना पक्षले टेक्स्म्याकोको उच्च व्यवस्थापनलाई आयोजनास्थलसम्म पु¥याए तापनि कुनै प्रगति हुन सकेको छैन । टेक्स्म्याकोले भने सिभिल निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन चिनले ठाउँ तयार नगरी दिंदा काम गर्न नपाएको बताएको छ । तर आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने अरु लटका काम सन्तोषजनक रहेको बताए ।
माथिल्लो तामाकोसीको सिभिल निर्माणको काम सिनो हाइड्रो, मेकानिकल तथा इलेक्ट्रिकलका लागि अष्ट्रियाको एन्द्रिज हाइड्रो जिएमबीएच, प्रसारण लाइन तथा सवस्टेशनको भारतको केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेका छन् । आयोजनाको अन्तिम डिजाइन, आयोजना व्यवस्थापन मुख्य लटहरुको प्राविधिक सुपरिवेक्षणका लागि परामर्शदाताको रुपमा नर्वे र जर्मन कम्पनी नरकन्सल्ट एएस÷ल्याहमेर इन्टरनेशनल जेभीले पाएका छन् । आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै ३७ अर्ब खर्च भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।