चिया बेचेर संकलन गरेको रकम ब्लड क्यान्सर पीडितलाई हस्तान्तरण

 आवाज संवाददाता     २४ माघ २०७४, बुधबार

दोलखा, माघ २४

आफ्नो साथी ब्लड क्यान्सरबाट पीडित भएपछि उनलाई बचाउन विद्यार्थी साथीहरुले चिया बेचेर संकलन गरेको रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।
दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविको कक्षा ९ मा अध्ययन गर्दैगरेका १४ वर्षीय किशोर मदन केसी ब्लड क्यान्सरबाट पीडित भएपछि उनका साथीहरुले सदरमुकामको सातदोबाटो चोकमा एक हप्तासम्म चिया बेचेर रकम संकलन गरेका थिए । आज सो रकम प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापामार्फत पीडितका बाबु नारायण केसीलाई हस्तान्तरण गरिएको हो ।
गौरीशंकर बोर्डिङ स्कुलका विद्यार्थीहरुले चिया बेचेर संकलन गरेको रकम, विद्यालयले उपलव्ध गराएको ५० हजार रुपैयाँ र अभियानबाट प्रभावित भएर इजरायलबाट पठाएको ७० हजार गरी ४ लाख हजार ३४ हजार ४२५ रुपैयाँ पीडितका बाबु केसीलाई आज हस्तान्तरण गरिएको हो । पहिले गौरीशंकर बोर्डिङ स्कुल पढेका मदनको बहिनी मनीषा अहिले गौरीशंकर बोर्डिङ स्कुलमै पढ्छिन् । आफनी साथीलाई एक दिन निरास देखेपछि उनीबाट मदनलाई ब्लड क्यान्सर भएको थाहा पाएको उल्लेख गर्दै चिया बिक्रीका एक अभियन्ता आशिष चौलागाईँले भने, ‘ उनको कुरा सुनेर हामीलाई पपनि निकै दुःख लाग्यो र चिया बेचेर रकम संकलन गर्ने अभियान चलायौँ ।’ आशिष गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्दैछन् । गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले यो अभियान चलाएका हुन् ।
त्यसैगरी आफ्नो साथी बचाउन कालिन्चोक माविका विद्यार्थीहरुले पनि आफूहरुबाट रकम उठाए, अभिभावकबाट रकम संकलन गरे र सो विद्यालयका शिक्षकहरुले पनि रकम थपिदिए । यसबाट विद्यालयले अहिलेसम्म २ लाख २० हजार ९२८ रुपैयाँ संकलन ग¥यो । सो रकम पनि आजै हस्तान्तरण गरिएको छ । मदनलाई बचाउन रकम संकलन गर्ने कार्य निरन्तर रहेको विद्यालयका प्रधानाध्यापक नवरान न्यौपानेले जानकारी दिए ।
आजै भीमेश्वर नगरपालिका ५ को आँकुरा बोर्डिङ स्कुलले पनि पीडितका बाबु केसीलाई १३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।
भीमेश्वर नगरपालिका ५ घर भएका मदन केसी करिब १ महिनादेखि नागरिक अस्पतालमा उपचार गराइरहेका छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको र उपचार अत्यन्त महँगो हुने ब्लड क्यान्सरको उपचारका लागि आइरहेको सहयोग प्रतिआफू ऋणी भएको पीडितका बाबु नारायण केसीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।