बाबेडाँडाको दुःखदायी कथाः राहत बाँड्न जाँदा ‘प्रौढ कक्षा’को माग

 आवाज संवाददाता     २४ माघ २०७४, बुधबार

दोलखा, माघ २४

गौरीशंकर गाउँपालिका ८ को बाबेडाँडास्थित एउटा कटेरोअगाडि एउटा पुरानो गुन्द्रीमा एकजना किशोर १४ वर्षदेखि एकै थलामा छन् । ‘मस्कुलर डिस्टोफी’ का कारण उनी चल्नचटपटाउन नसक्ने भएपछि उनी एकैथला परेका हुन् ।
साविक खारे गाविस वडा नं ३ बाबेडाँडाका धनबहादुर तामाङका छोरा १६ वर्षीय सुमन तामाङ शरीरका अङ्गहरु नचल्ने भएपछि एकैथलामा परेका हुन् । उनलाई बाहिरभित्र गर्न पनि सहारा चाहिन्छ । उनका बाबु धनबहादुरका अनुसार दुई वर्षको उमेरदेखि सुमनमा त्यस्तो समस्या देखिएको हो । सुमनमात्रै होइन उनका दाजु शीतलमा पनि त्यस्तै समस्या थियो र १८ वर्षको उमेरमा करिब डेढ महिनाअघि उनको मृत्यु भैसकेको छ ।
सोही बस्तीकी देवी तामाङकी ७ वर्षीया छोरी फूलमायाको पनि अवस्था उस्तै छ । उनी आँखा देख्दिनन्, कान सुन्दिनन् र गोडा पनि टेक्दिनन् । तर उनकी आमा देवीलाई छोरीलाई कहाँ लगेर के उपचार गर्ने भन्ने थाहा छैन । त्यही बस्तीकी ज्योतिमाया तामाङका तीनवटै सन्तान फरक क्षमताका छन् । जेठी छोरी सुनपातीको गोडा लुलो भएकोले हिँड्न सक्दिनन् । ज्योतिमायाका अनुसार अर्की छोरी सविना र छोराको पनि गोडाकै समस्याका कारण हिँडडुल गर्न सक्दैनन् ।
धेरैजसो मानिस कुनै न कुनै शारीरिक समस्यामा रहेको सो बस्तीका तक्तबहादुर तामाङको दायाँ हात कुमछेउमै काटिएकोले काम गर्न समस्या छ । त्यस्तै युवक ३८ वर्षीय कृष्णबहादुर तामाङको पनि दायाँ गोडाका तीनवटा औँला काटिएका छन् । कतिपय बृद्धहरुको गोडाका औँला बाङ्गा छन् । कसैका जन्मँदै गोडाका औँला छैनन् । २२ परिवारमा रहेको ८५ जनसंख्यामा सबैजसो मानिस कुनै न कुनै समस्याबाट ग्रस्त छन् ।
चरिकोट लामाबगर सडकको तल्लो जगतबाट करिब ९ सय मिटरको दूरीमा रहेको बाबेडाँडा पुग्न करिब आधा घण्टा मात्रै लाग्छ । तर त्यहाँ पुगेपछि र त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यको अवस्था देखेपछि नेपालको कुनै निकै दुर्गम ठाउँमा पुगेजस्तो सबैलाई लाग्छ । बरु बाटो ठाडै उकालो हिँड्नुपर्छ । तर सडकबाट यति नजिकै र माथिल्लो तामाकोशी आयोजनाको नजिकै भए पनि यो गाउँलाई अहिले सम्म विकासले छोएका छैन ।
उनीहरुको बस्ती बाबेडाँडाबाट माथिल्लो तामाकोशी आयोजना पारिपट्टि देखिन्छ । तर उनीहरुको गाउँमा विजुली छैन । न विद्यालय नै छ । गाउँमा पढेलेखेका युवा छैनन् । गौरीशंकर गाउँपालिकाका वडाध्यक्ष रमेश खड्काका अनुसार गाउँको एउटा किशोर अहिले १० कक्षा पढ्दैछन् । गाउँको सबैभन्दा धेरै पढेका तिनै हुन् । उनीहरुको गाउँमा स्कुल छैन । जाँदा एक घण्टा र आउँदा करिब दुई घण्टा लाग्ने माथिल्लो जगतस्थित गौरीशंकर माविमा जानुपर्छ । स्कुल टाढा हुँदा पनि त्यहाँका बालबालिकाहरु स्कुल जान नसकेको वडाध्यक्ष खड्का बताउँछन् ।
गाउँमा शिक्षा पाएको मानिस कोही नभएकोले उनीहरु गाउँमै स्वरोजगारी गरेर बसेका छन् । डोको, डालो, भकारी आदि बुन्नु उनीहरुको दैनिकी भएको छ । त्यसबाट उनीहरुको राम्रोसँग गुजारा पनि नचल्ने गरेको ढुकीमाया तामाङले बताइन् । डोको, डालो बुनेर जीविका चलाइरहेका चरित्र तामाङ आर्थिक अभावका कारण आफ्ना नानीहरुको उपचार गर्न नसकेकोमा दुःखेसो गर्छन् ।
तर अभाव र रोगले आक्रान्त गाउँमा सहयोगी हातहरु आएपछि उनीहरुको अनुहारमा अलिकति हाँसो देखियो । पत्रकार नीता राउतले फेसबुक अभियानमार्फत सङ्कलित रकम र रणभीम गणले गोपाल–प्रमिला स्मृति ट्रष्टमार्फत उनीहरुलाई खाद्यान्न सामग्री र न्यानो लुगा वितरण गर्दा उनीहरु खुशी देखिएका छन् । उनीहरुले बस्तीमै पुगेर हरेक परिवारलाई तत्कालीन राहत वितरण गरेका हुन् । पत्रकार नीताले खाद्यान्न तथा सिरक, डस्ना, तकिया, तन्ना वितरण गरिन् भने गोपाल प्रमिला स्मृति ट्रष्टको तर्फबाट खाद्यान्न र ब्लाङ्केट वितरण गरिएको थियो ।
तत्कालीन राहत सामग्री वितरणमा व्यवस्थापकीय सहयोग गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बस्तीमा आयोजनाको तर्फबाट विजुली उपलव्ध गराउने बचन दिए । त्यसैगरी त्यसबेला बस्तीका फरक क्षमता भएको बालबालिकाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका चिकित्सक नरेन्द्र हमालले उनीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
राहत सामग्री वितरण गर्न र स्वास्थ्य परीक्षण गर्न गाउँमा आएको टोलीसँग स्थानीय तथा अपाङ्गता भएका तक्तबहादुर तामाङले शिक्षामा पछि परेको आफ्नो गाउँमा प्रौढ कक्षाको माग गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF