दोलखा सुनखानीमा पहिरोले ५० परिवार रातभर विस्थापित (अपडेट)

 आवाज संवाददाता     २२ असार २०७३, बुधबार

दोलखा, असार २२/मंगलबार साँझदेखि सुनखानीमा गएको पहिरोले सुनखानी ६ र ७ का ५० परिवार रातभर घर छाडेर जागै बस्न बाध्य भएका छन् । पहिरो जंगलमा खसेकोले मानवीय क्षति भने भएको छैन ।
साँझबाट सामान्य पहिरो जान थाले पनि ८ बजेतिरबाट ठुलो गर्जनसाथ ढिस्को खसेपछि सुनखानी माथिल्लो भट्टेली, सोती लगायतका मानिसहरु सुरक्षित स्थानतर्फ भागेका थिए । ‘पहिरो साँझ ७ बजेदेखि नै जान थालेको थियो’, सुनखानी ६ का गणेश खरेलले भने, ‘तर ८ बजेबाट व्यापकै जान थालेपछि हामी घर छाडेर भाग्न बाध्य भयौँ ।’ रातभरि पहिरो गई नै रहेको उनले बताए । माथिल्लो भट्टेलीका १२ परिवार र भट्टेलीका गरी झण्डै ५० परिवारले मानेभट्टेलीस्थित कालीनाग बहुमुखी क्याम्पसमा गएर रात विताएको गणेश खरेलले बताए । आफूहरु रात बिताएको ठाउँमा पहिरोको जाखिम कम भए पनि रातभर जागै बसेको उनले बताए ।
पहिरो निरन्तर खसिरहेको र एउटो ठुलो ढिस्को खस्ने अवस्थामा रहेकोले माथिल्लो भट्टेली, भट्टेली केही जोखिममा रहेको स्थानीय पदमराज खरेलले जानकारी दिए । गत वर्षको भूकम्पमा सुनखानीको सबैभन्दा माथि रहेको सुरुङ्गे डाँडो चर्किएको थियो । त्यही डाँडोबाट अहिले त्यहाँ सुख्खा पहिरो गईरहेको छ । पहिरोले गर्दा डाँडोमा रहेको श्रृङ्ग ऋषिको मन्दिरको नामोनिशान नभएको स्थानीय उनले बताए । पहिरो जाँदै गर्दा वर्षा पनि भएमा वस्ती जोखिममा पर्ने उनीहरुको डर छ । ‘हेरिराखेका छौँ, पहिरो निरन्तर गइरहेको छ ।’ गणेश खरेलले भने, ‘यस्तै हो भने माथिल्लो भट्टेली बस्ती नै सार्नुपर्छ । सरकारले ध्यान देओस् ।’
तत्कालका लागि सुख्खा पहिरो भएकोले खासै जोखिम नभएको र वर्षाका कारण पहिरोले पु¥याउन सक्ने क्षति प्रति आफूहरु सजग रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।