ब्लड बैंक पुनःस्थापना गर्न अस्पतालको ५० हजार सहयोग

 आवाज संवाददाता     ८ फाल्गुन २०७४, मंगलवार

दोलखा, ८ फागुन
दोलखामा ब्लड बैंक पुनःस्थापनाका लागि चरिकोटको एक अस्पतालले ५० हजार आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखालाई ब्लड बैंक पुनः सञ्चालन गराउनका लागि चरिकोटमा रहेको दोलखाको सामुयिक हस्पिटल प्रालिले ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
अस्पताल सञ्चालक अमृतबहादुर बुढाथोकीले रेडक्रस सोसाइटी दोलखा शाखाका अध्यक्ष गोकर्णप्रसाद पोखरेललाई उक्त चेक हस्तान्तरण गरेका हुन् । ब्लड बैंकको अभावमा कतिपय गम्भीर प्रकृतिका विरामीको शल्यक्रिया गर्न समस्या हुँदै आएको छ । विरामीलाई रगतकै अभावमा मृत्युको मुखसम्म पुग्नबाट बचाउनका लागि ब्लड बैंक आवश्यक रहेको उनले बताए ।
आफ्नो अस्पतालमा समेत कति पय विरामीको शल्यक्रियाका लागि रगतकै समस्या हुने गरेको उनले बताए । ब्लड बैंक नहुँदा शल्यक्रिया गर्नुपर्दा स्वास्थ्यकर्मीहरु आफैं र नेपाली सेनाको ब्यारेकमा सम्पर्क गरेर समेत रक्तदान गराएर ज्यान बचाउनुपरेको उनले बताए । चेक लिएपछि रेडक्रस अध्यक्ष पोखरेलले चरिकोटमा ब्लड बैंक एक महिनाभित्रै पहिलेकै ठाउँमा पुनःसञ्चालन गर्ने बताए ।
चरिकोटमा रेडक्रसकै व्यवस्थापनमा यसअघि ब्लड बैंक सञ्चालन हुँदै आएको थियो । २०७२ बैशाखमा गएको भूकम्पपछि त्यो पूर्ण रुपमा बन्द छ ।
त्यसैगरी अस्पतालले नेपाल पत्रकार महासंघ दोलखाको भबन निमार्णका लागि समेत २५ हजार सहयोग गरेको छ । अस्पताल सञ्चालक बुढाथोकीले २५ हजार रुपैयाँको चेक महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरे ।
अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई भरपर्दो र विश्वसनीय बनाउनका लागि विशेषज्ञ चिकित्सकहरु समेत राखेर उपचार गराउँदै आएको छ । अस्पतालमा पछिल्लो समय हाल हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ (अर्थाेपेडिक सर्जन) रेम राईद्वारा जाँच तथा अप्रेसश सेवा समेत सुरु गरेको सञ्चालक बुढाथोकीले जानकारी दिए ।
बिरामी जाँच तथा हाडजोर्नीहरुको अप्रेशन सेवा साथै हात खुट्टा तथा शरीरका कुनै भागको हड्डीहरु भाँचिएको, ढाड तथा कम्मर दुख्ने, घँुडा दुख्ने, गर्दन दुख्ने, हड्डी खिएर जोर्नीहरु दुख्ने, हात खुट््टा तथा शरीर झमझम गर्ने नसा च्यापिएको बिरामीहरुको लागि ओपीडी सेवा दिँदै आएको छ । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा र एमडीजीपी बिशेषज्ञ, डाक्टर अमोघ बस्न्यातद्वारा हाईड्रोसिल, हर्निया, एपेन्डिक्स, पायल्स, प्रसुती सहित अपे्रशन सेवा लगायत आकस्मिक सेवा सञ्चालन गरिरहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।