यथार्थ बुझ्न छानविन समिति गठन, डिस्चार्ज लगत्तै भएको मृत्युले सिर्जित तनाव घट्यो

 आवाज संवाददाता     २२ असार २०७३, बुधबार

दोलखा २२ असार/भीमेश्वर नगरपालिका १० की धनलक्ष्मी तामाङको मृत्युपछि प्राथमिक स्वास्थ्य केन्द्रमा भएको तनाव कम भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिनदेखि उपचार गराइ आजै डिस्चार्ज गरिएकी दमको रोगी ४९ वर्षीया तामाङको आधा घण्टाभित्रै मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा तनाव भएको थियो ।
निको भएको भनिएको विरामी डिस्चार्ज गरेको आधा घण्टामै मृत्यु भएपछि डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले सम्बन्धित डाक्टरलाई कारबाहीको माग गर्दै कार्यालय घेराउ गरेका थिए । यसरी सिर्जित तनाव घटनाबारे छानविन गर्न छानविन समिति गठन भएपछि साम्य भएको छ । छानविन समिति गठनपछि मृतकका आपफन्तले शव बुझेका छन् ।
घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको संयोजकत्वमा छानविन समिति गठन भएको बताइएको छ । छानविन कमिटीको सदस्यहरुमा स्वास्थ्य कार्यालयका प्रमुख, महिला तथा बालबालिका कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक र जिरी अस्पतालका विज्ञ डाक्टर रहेका छन् । उनीहरुले अस्पताल स्रोत, पीडित लगायतसँग सोधपुछ गरी सात दिनभित्र प्रतिवेदन दिनेछन् । छनविन समिति बनेपछि मृतकका आफन्तले पोष्टमार्टम नगरी शव बुझेको प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद दंगालले दमको क्रोनिक विरामीको जुनसुकै बेला जे पनि हुन सक्ने भएकोले यस्तो घटना भएको बताए । निकै सुधार भएर डिस्चार्ज गरेको यस्ता कतिपय विरामीमा त्यही कारणले ‘सडेन एट्याक’ हुने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।