डा. शशांकको स्वास्थ्यः ‘सुधारोन्मुख’ तर ‘खतरामुक्त’ हुन बाँकी

 आवाज संवाददाता     २३ असार २०७३, बिहीबार

औषधिको मात्रा घटाइयो, अझै भेन्टिलेटरमा राखिने

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको ओम अस्पतालले जनाएको छ । हिजोको भन्दा सुधार भए पनि अझै खतरामुक्त चाहिँ भनिहाल्ने नसकिने डाक्टरहरुको निश्कर्ष छ ।

मंगलबार रातिदेखि ओम अस्पतालमा भर्ना भई भेन्टिलेटरमा राखिएका कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी दिन विहीबार विहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा डा. लब जोशीले कोइरालाको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको बताए ।

डाक्टरहरुले बोलाउँदा थाहा पाउने र टाउको हल्लाउने गरेको भन्दै डा. जोशीले औषधि र अक्सिजनको सर्पोट पनि कमगर्दै लगिएको बताए । अहिले उनलाई ४० प्रतिशतमात्रै अक्सिजन दिइएको र भेन्टिलेटरमै राखिएको जोशीले बताए ।

तर, हिजोसम्म हाइ डोजका ४ वटा औषधि चलाइएकोमा अहिले १/२ वटामात्रै दिइएको र अवस्था अनुसार थपघट गरिएको उनले जानकारी दिए । बिरामीको लिभर र मृगौलाको अवस्थामा पनि सुधार देखिएको डा. जोशीले बताए ।

तर, स्वास्थ्यमा सुधार आए पनि अझैसम्म खतरामुक्त भनिहाल्न नसकिने बताउँदै डा. जोशीले कहिलेसम्म भेन्टिलेटरमा राख्ने भन्नेबारे डाक्टरहरुको बोर्डले निर्णय गर्ने स्पष्ट पारे ।

अहिलेसम्मको अवस्थालाई हेर्दा नेपाली डाक्टरहरुको टीमले नै कोइरालाको उपचार गर्न सक्ने अवस्था रहेको भन्दै जोशीले परिवारका सदस्यले पनि नेपालमै उपचार गर्ने भनेकाले तत्कालै विदेश लानेबारे कुनै निर्णय नभएको स्पष्ट पारे ।

पेट र श्वास प्रश्वासमा असहज महसुस भएको भन्दै कोइराला मंगलबार राति ओम अस्पताल भर्ना भएका थिए । बुधबार बिहान ५ बजेतिरबाट उनी अकस्मात अचेत बनेका थिए । भेन्टिलेटरमै राखेको अवस्थामा बुधबार बेलुका उनका आँखा खुलेका थिए ।

साभार: अनलाइनखबर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।