‘बल्ल हामी एक गिलास पानी दिन सक्ने भएका छौँ’

 आवाज संवाददाता     २३ असार २०७३, बिहीबार

नाम्दु डाँडागाउँमा पानीको हाहाकार !

दोलखा, असार २३/केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर बाढीपहिरोले क्षति पु¥याइरहँदा दोलखाको नाम्दु डाँडागाउँमा भने खानेपानीको हाहाकार भएको छ ।
दोलखा नाम्दु गाविस ३ डाँडागाउँका जनतालाई मध्य वर्षामा पिउने पानीको हाहाकार भएको हो । आफूहरुले आधा शताव्दीदेखि पिइरहेको पानी भूकम्पपछि जग्गावालाले नदिएपछि उनीहरु पिउने पानीका लागि भौँतारिनु परेको हो । उनीहरुले नाम्दु ८ ठोट्नेरीस्थित राजन ढुङ्गेलको खेतको मुहानबाट पानी ल्याएकोमा गत वर्षको भूकम्पपछि खेतधनीले पानी काटिदिए र डाँडागाउँ वरपरका ६५ घरधुरीका मानिसहरु पिउने पानीबाट वञ्चित भए ।
खेतधनीले पानी नदिएपछि उनीहरुले धेरै आग्रह गरे पानीका लागि । त्यस वापतको पैसा तिर्न पनि तयार भए तर उनीहरुले त्यहाँको पानी पाएनन् । उनीहरुले कति दिन १२ किलोमिटर टाढाको तामाकोशीबाट बालुवा बोक्ने ट्रकमा जर्किनमा पानी ल्याएर गुजारा गरे । ‘कति दिन तामाकोशी देखि बालुवा बोक्ने ट्रकमा पानी ल्याएर खाँयौँ ।’ ६९ वर्षका अनिरुद्र घिमिरेले भने, ‘कति दिन डेढ घण्टा टाढाको बेतानेबाट एक हातमा दूधको जर्किन र एक हातमा पानीका जर्किन ल्याएर खायौँ ।’
छ महिनासम्म डेढ घण्टा टाढाको वैतेश्वर महादेवको मन्दिरको धाराबाट पानी ल्याएर खाएको डाँडागाउँकै युवा रवि घिमिरेले दुःखेसो गरे । उनले भने, ‘त्यति बेला तपाईँहरुलाई हामी एक गिलास पानी पनि दिन सक्ने अवस्थामा थिएनौँ ।’ उनीहरुले वर्षा लागेपछि अस्थायी टहरोको तप्केन थापेर पानीको प्यास मेटाएको दुःख सुनाए ।
गाउँमा खानीपानीको समस्या समाधानका लागि गाउँलेहरुले जिल्ला प्रशासन कार्यालयसम्म जर्किन जुलुस पनि गरे । तर जिल्ला प्रशासन कार्यालयले आफ्नो समस्यामा खासै चासो नदेखाएको उनीहरुको आरोप छ । आफूले खाँदै आएको पानी पुनःप्राप्त गर्नेतर्फ स्थानीय प्रशासनले पहल नगरेको उनीहरुको दुःखेुसो छ ।
खानेपानीको समस्याबाट आजित डाँडागाउँका २६ परिवार मिलेर पुरानो मुहानभन्दा केही तलको गोविन्दप्रसाद रिमालको मुहानबाट पानी ल्याएका छन् । हरेक परिवारले २० हजारका दरले पैसा उठाए र पाइप किनेर ल्याए । पानीको व्यवस्थापनको लागि पानी मुहानवाला गोविन्दको बुहारी चण्डिका रिमाललाई उपभोक्ता समितिको अध्यक्ष पनि बनाइदिए । ३२ सय मिटर पाइप आफ्नै खर्चमा ल्याएर विछ्याए । तर पानी गाउँको पुछारमा मात्रै आइपुग्यो । पानीको नहुनुको दुःख खेपेका उनीहरु गाउँको पुछारबाट पानी बोक्दा कुनै दुःख नलागेको बताउँछन् । ‘बल्ला हामी तपाइँहरुलाई एक गिलास पानी दिन सक्ने भएका छौँ ।’ एक लाइन पानी गाउँको पुछारसम्म ल्याउन सकेकोमा खुशी हुँदै रवि घिमिरेले भने ।, ‘यतिबाट त हामी सधैँभरि पनि बोकेर खान सक्छौँ ।’
पानीको व्यवस्थापनको लागि उनीहरुले गाउँको पुछारमा १२ घनमिटरको रिजभ्र्वायर ट्यांकी बनाउन खाल्डो खनिसकेका छन् । गाउँभन्दा माथि ६ घनमिटरको अर्को ट्यांकीको लागि पनि खाल्डो खनिसकेका छन् । गाउँको पुछारबाट विजुलीको मोटरले पानी तानेर माथिल्लो ट्यांकीमा लैजाने र त्यहाँबाट वितरण गर्ने उनीहरुको योजना छ । उनीहरुलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दोलखाले ती दुईवटा ट्यांकी बनाइदिने बचन दिएको छ । रविले भने, ‘कार्यालयले बनाइदिएछ भने ठिकै छ नत्र हामी आफैँ बनाएर भए पनि पानी चाहिँ खान्छौँ ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।