राष्ट्रिय सभाले आज अध्यक्ष घोषणा गर्दै

 आवाज संवाददाता     ३० फाल्गुन २०७४, बुधबार

राष्ट्रिय सभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ । अध्यक्षका लागि एमालेका सांसद गणेशप्रसाद तिमल्सिनाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाले घोषणा गर्न लागेको हो । प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नै नउठाएपछि तिमल्सिना निर्विरोध भएका थिए । राष्ट्रिय सभा ५९ सदस्यीय हुने व्यवस्था छ । जसमध्ये एमाले २७, कांग्रेस १३, माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम र राजपाका दुई/दुईजना सांसद छन् । तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

उपाध्यक्षको निर्वाचन ४ चैतमा
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आगामी ४ चैतमा हुने भएको छ । राष्ट्रिय सभाको अध्यक्ष एमालेले लिने भएपछि उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति छ । अध्यक्ष पुरुष हुने भएकाले उपाध्यक्ष महिला हुनेछिन् । उपाध्यक्षमा विना पोखरेल, शशिकला दाहाल र युटोन लामामध्ये एकजना हुन सक्ने माओवादी केन्द्रका सांसद दीनानाथ शर्माले बताए ।

तर, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारमा सहभागी हुन वार्ता जारी रहेकाले उपाध्यक्षको नाम फाइनल नगरिएको उनको भनाइ छ । फोरमले तीन मन्त्रीसहित उपसभामुख वा राष्ट्रिय सभाको उपाध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ । राजपाले सोहीअनुसार भागन्डा हुनुपर्ने दाबी गरेको शर्माले बताए । एमाले र माओवादीले फोरमलाई दुई मन्त्रीसहित एक राज्यमन्त्री दिनेगरी छलफल अगाडि बढाएका छन् । फोरमसँगको वार्ता टुंगिएपछि मात्र माओवादीले उपाध्यक्षको नाम टुंगो लगाउने जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।