प्रधानमन्त्रीले भने- अनुभवी कर्मचारी सरकारले खटाएको ठाउँमा जानैपर्छ

 अावाज स‌‌वाददाता     ३ चैत्र २०७४, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

‘खटाएको ठाउँमा जान्नँ भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’, प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन। सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ।’

प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको समेत बताए।

जागिर सुरु गर्दाको सर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। प्रधानमन्त्रीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे।

‘देशको विकास गर्ने कुरामा अब ढिलो गर्न सकिँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौं।’

कर्मचारीको वृत्ति विकासका लागि पनि सेवा प्रवेश गर्दाको सर्त लागू हुने प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने, प्रदेशमा सरुवा हुँदा फेरि संघमा आउन नपाइने भन्ने हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘आवश्यकताको आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ। तर जहाँ गयो त्यहीँ सीमित भएर बस्नुपर्दैन।’

सो क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाको नेतृत्वको टोलीले निजामती क्षेत्र सुधारका लागि ११ बुँदे सुझाव प्रधानमन्त्रीलाई दिएको थियो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF