अब घाँसको पनि बिमा, यस्तो छ मापदण्ड

 अावाज स‌‌वाददाता     ४ चैत्र २०७४, आईतवार

तरकारी बालीपछि बिमा समितिले घाँसेबाली बिमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बिमा योजना निर्माण गर्ने तयारी गरेको हो ।

समितिका अनुसार केही दिनमै यस्तो बिमालेख जारी हुनेछ । यस बिमालेखअनुसार बिमा अवधिभित्र घाँसबालीमा भएको हानि–नोक्सानीको उत्पादन मूल्यका आधारमा बिमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्नेछ ।

समितिका अनुसार बिमा शुल्क बिमांक रकमको ७ प्रतिशत मात्रै लाग्नेछ । जसमा कृषकले ७५ प्रतिशत अनुदानसमेत पाउनेछन् । बिमांक रकम गणना प्रतिहेक्टरमा उब्जनी हुने बालीको परिमाण र प्रतिटनको वास्तविक मूल्यका आधारमा गरिनेछ ।

न्यूनतम पाँच रोपनीको बिमा गरिने
बिमा गरिने घाँसेबाली न्यूनतम पाँच रोपनीमा लगाइएको हुनुपर्नेछ । समितिका अनुसार पहाडी क्षेत्रमा लगाइएको घाँसेबाली बिमा गर्न न्यूनतम पाँच रोपनीमा लगाइएको हुनुपर्नेछ ।
उच्च पहाडको हकमा भने न्यूनतम दुई रोपनी र तराईमा १० कठ्ठामा उत्पादन गरिएको हुनुपर्नेछ । एउटा बिमा योजनाले धेरै कृषकको बालीको पनि सुरक्षण गर्न सकिनेछ । तर, यसका लागि बाली एउटै ब्लकमा लगाइएको हुनुपर्नेछ ।

घाँसेबालीका लागि प्रयोग गरिने बिउको स्रोत सरकारबाट स्वीकृतप्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजी क्षेत्र, कृषक समूह, कृषि सहकारीको हुनुपर्नेछ । बाली तोकिएको मापदण्डअनुसार लगाइएको हुनुपर्नेछ । बालीमा कुनै रोग, किरा, झारपात लागेमा कृषकले आफ्नै खर्चमा रेखदेख गर्नुपर्नेछ । बिमकले कुनै पनि समयमा बालीको निरीक्षण गर्न सक्नेछ ।, नयाँ पत्रिकामा खबर छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF