एसइइ परीक्षा सुरु, करिब ५ लाख परीक्षार्थी सामेल

 अावाज स‌‌वाददाता     ८ चैत्र २०७४, बिहीबार

यस वर्षको माध्यामिक शिक्षा परिक्षा(एसइइ) आजदेखि सुरु भएकाे छ। बिहान ८ बजेदेखि देशैभरका परिक्षा केन्द्रहरुमा एकैसाथ सुरु भएकाे परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।

कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बुधबार नै परीक्षा केन्द्रमा पुगिसकेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीहरु सामेल हुँदैछन्। १ हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्द्र १ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएका छन्।

साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसार तयार गरिएका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ। जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत यस पटक एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।