गरिबी घटाउँदै दोलखाका सहकारी

 अावाज स‌‌वाददाता     १० चैत्र २०७४, शनिबार

सहकारी संस्थाहरूका बारेमा विभिन्न नकारात्मक धारणा आममानिसले राख्दै आएको पाइन्छ । सीमित गुटहरूले संस्था खोल्ने र रकम गुटमुट्याएर भाग्ने वा निकट व्यक्तिलाई कर्जा प्रवाह गरी रकम हीनामिना गर्ने संस्था भन्ने बुझाइ पनि आममानिसमा छ । तर, नेपालमा सञ्चालित केही सहकारीले बचत तथा ऋण प्रदान गर्ने मात्र नभएर आफ्ना सदस्यहरूलाई विभिन्न सीप सिकाएर उनीहरूको जीवनस्तर नै परिवर्तन गर्दै आएका छन् । त्यस्ता सहकारीले स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आमूल परिवर्तन गरी अन्तर्राष्ट्रिय ब्रान्डसमेत पाइसकेका छन् ।

नेपालका विभिन्न क्षेत्रमा सञ्चालित सहकारीमध्ये दोलखाका केही सहकारीहरूलाई नमुनाका रूपमा लिन सकिन्छ । तिनीहरूमध्ये दोलखाको मैनापोखरीमा रहेको जनसचेतना बचत तथा ऋण सहकारी संस्था एक हो । ०५० सालमा ३४ जना सदस्यबाट सुरुवात भएको यो संस्थामा अहिले १७ हजार १ सय ८ जना सेयर सदस्य छन् ।

त्यस्तै, ५ हजार ८ सय ५१ जना बाल बचतकर्तासमेत छन् । सामान्य बस्ती रहेको मैनापोखरीमा सहकारी स्थापनापछि पूर्वाधार विकास हुँदै गएको संस्थाका अध्यक्ष भीमप्रसाद दाहालको भनाइ छ । ‘सहकारीपूर्व हाम्रो आर्थिक हैसियत सामान्य थियो । सहकारीले हामीलाई सीप मात्रै होइन, काम गरी खान पनि सिकाएको छ,’ उनले भने ।

चालू आर्थिक वर्ष ०७४-७५ को फागुन मसान्तसम्ममा यो संस्थाको सेयर पुँजी ७ करोड ९६ लाख रुपैयाँ र ७० करोड २ लाख संस्थामा निक्षेप रहेको छ । यो अवधिसम्ममा संस्थाले ८५ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । १६ वटा बचत योजना सञ्चालन भइरहेको संस्थामा विभिन्न १७ वटा शीर्षकबाट कर्जा प्रवाह हुँदै आएको उनले जानकारी दिए ।

त्यस्तै ०५० सालमा चरिकोट बजारमा स्थापित मिलिजुली बचत तथा ऋण सहकारी संस्था दोलखाको अर्को उत्कृष्ट सहकारी हो । २५ जना सदस्यबाट ५ हजार ६ सय सेयर पुँजी संकलन गरी सञ्चालन गरिएको सहकारीमा अहिले १६ हजार ४ सय ४६ जना सेयर सदस्य र ६ हजार ५ सय ९८ बाल बचतकर्ता छन् । चालू आवको असोज मसान्तसम्म संस्थाको सेयर पुँजी ७ करोड १७ लाख पुगेको छ । जगेडा कोष ४ करोड ४१ लाख रुपैयाँ रहेको छ । बचत ५२ करोड ६७ लाख रहको छ भने कर्जा सापटी ६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

संस्थाले विभिन्न १९ प्रकार बचत योजना सञ्चालन गरेको छ । १६ प्रकारका ऋण योजना सञ्चालन गरेको छ । चरिकोटमै ०५४ सालमा स्थापना भएको हाम्रो जनकल्याण पनि अर्को उत्कृष्ट सहकारी हो । गत आवको अन्त्यसम्ममा सहकारीको सेयर पुँजी ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बचत २७ करोड ९७ लाख रुपैयाँ छ भने १ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड पाउँदै सहकारीहरू
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले एसियाली ऋण महासंघ (अक्कु)को सहकार्यमा बचत तथा ऋण सहकारी संस्थाहरूको (साकोस) ब्रान्ड गर्दै आएको छ । हालसम्म देशभरका १९ वटा संस्थाले एक्सेस ब्रान्ड पाइसकेका छन् । त्यसमध्ये दोलखाकै तीनवटा संस्थाले एक्सेस ब्रान्ड पाएका छन् । हाम्रो जनकल्याण र मिलिजुलीले ब्रोन्ज ब्रान्ड पाएका छन् । यो पहिलो तह हो । त्यस्तै, जनसचेतन साकोसले भने सिल्भर ब्रान्ड पाएको छ । उनीहरू गोल्ड ब्रान्ड पाउन प्रयास गरिरहेका छन् । मन्थलीस्थित मन्थली बचत तथा ऋण सहकारी संस्था एक्सेस ब्रान्डमा गएको छ भने जिरीको एकीकृत फ्रेन्डसिप प्रोवेसन ब्रान्डको तयारीमा जुटेको छ ।

ग्रामीण क्षेत्रमा सञ्चालन भएका सहकारी तुलनात्मक रूपमा उत्कृष्ट भएको दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले बताए । ‘यहाँका सहकारीले सहकारीको सिद्धान्तलाई पालना गरेका छन् । हामीले साना सहकारीलाई पनि यस विषयमा सचेत गराएका छाँै । अबका दिनमा एउटा व्यक्तिको आदेशमा सहकारी चल्न सक्दैन,’ उनले भने ।

सहकारीका आफ्नै कार्यविधि
संस्थागत सुशासनका लागि आवश्यकताअनुसार दोलखाका संस्थाहरूले कार्यविधि बनाएका छन् । मैनापोखरीस्थित जनसचेतनाले २६ वटा कार्यविधि तथा निर्देशिका तयार पारेको छ । सहकारीले स्वयं नियममा नै चल्नुपर्छ भन्ने मान्यताका साथ आफैँले कार्यविधि निर्माण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

गरिबी घटाउँदै सहकारीहरू
सहकारीहरूले गरिबी घटाउन पनि उत्तिकै सहयोग गरेका छन् । जनसचेतना सकोसले गरेको अध्ययनअनुसार सदस्यपूर्व आम्दानी नभएका मानिसहरू १८ दशमलव ९३ प्रतिशत थिए । तर, सदस्यतापश्चात् ८ प्रतिशतमा झरेको छ । सदस्यतापूर्व १ हजारदेखि १० हजार मासिक आम्दानी भएका व्यक्ति ५२ दशमलव ९२ प्रतिशत थिए भने सदस्यतापश्चात् २६ दशमलव १५ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, १० हजारदेखि २० हजार मासिक आम्दानी हुने १८ दशमलव १५ प्रतिशत थिए भने सदस्यपश्चात् २२ प्रतिशत पुगेको छ । साकोसका करिब १६ प्रतिशत सदस्य व्यापार व्यवसायमा लागेका छन् भने २ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लागेका छन् । सकोसले १० प्रतिशत गरिबी घटाउन सफल भएको संस्थाका अध्यक्ष दाहालले बताए ।

सहकारीमा प्रविधिको प्रयोग
प्रविधिको विकासले मानिसको जीवन सरल बनाइदिएको छ । दोलखाका सहकारीले पनि प्रविधिको प्रयोगबाट सदस्यको दैनिक सहज बनाएका छन् । जनसचेतना सकोसले मुख्य कार्यालय र सेवा केन्द्रहरूमा आफ्नै वायरलेस नेटवर्क स्थापित गरी अनलाइन सेवा प्रदान गरेको छ ।

 सीप सिकाउँदै सहकारी
दोलखाका सहकारीहरूले सदस्यहरूलाई ऋण मात्रै दिने होइन, त्यसको सदुपयोग गर्न सीप पनि सिकाउँदै आएका छन् । सहकारीहरूले मफलर, आउटर, स्वेटर, टोपी, मोजालगायत सिलाइबुनाइका लागि होजियारी तालिम सञ्चालन गर्दै आएका छन् । त्यस्तै, बाख्रापालन, तरकारी खेती, पशुपालन, चिज उत्पादनलगायतका काममा सदस्यलाई दक्ष बनाउन विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएका छन् । उत्पादन गरिएका सामग्रीलाई बजारसम्म पुर्‍याउने कार्यमा पनि सहकारीहरूले सहयोग गर्दै आएका छन् ।

नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।