सरकारले स्वीकृत गर्‍यो कर्मचारीको दरबन्दी, कुन मन्त्रालयमा कति कर्मचारी?

 अावाज स‌‌वाददाता     १५ चैत्र २०७४, बिहीबार

सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ७ सय ५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३ सय ५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ। सोअनुसार केन्द्रमा रहँदै आएको ३ हजार २ सय ६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी २ हजार ६ सय ५४ कायम गरिएको छ।

सरकारले स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जनाए। सरकारले स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानुन बनाएर पठाउने निर्णय पनि गरेको छ।

बैठकले आर्थिक तथा सामाजिक कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउने ६८ करोड ६० लाख रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्यान्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ। सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF