न्यायपालिकालाई सच्याउन कडा कदम चालिने

 आवाज अनलाइन     १५ चैत्र २०७४, बिहीबार

दोलखा, चैत १५
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायपालिकाबाट भएका काम विश्वासिलो नभई जनतामा प्रश्नचिन्ह उव्जाउने खालको भएकोले सरकारले त्यसलाई सच्याउन कडा कदम चाल्ने बताएका छन् ।
दोलखाको सबैभन्दा पुरानो गौरीशंकर बहुमुखी क्याम्पसको ३७ औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री तामाङले लोकतन्त्रमा कानु सबैभन्दा बलियो हुनुपर्नेमा त्यसो नभई जनतामा अविश्वास र प्रश्नचिन्ह खडा भएकोले त्यसलाई सच्याउन सरकारले कडा कदम चाल्ने बताएका हुन् ।
मन्त्री तामाङले न्यायपालिकामा असल भन्दा पनि ठुला मान्छे बढी भएकोले समस्या बढी भएको उल्लेख गर्दैै न्यायालयबाट भ्रष्टाचारी, बलात्कारी, हत्यारालाई सोर्सफोर्सका आडमा शुद्ध बनाउने प्रवृत्तिको अन्त्य गर्न वर्तमान सरकार लागि पर्ने बताए ।
गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य शान्ति पाख्रिन, प्रदेश सभा सदस्य पशुपति चौलागाईं, प्रदेशसभा सदस्य रचना खड्का, जिसस प्रमुख डबल पाण्डे, भिमेश्वर नगरप्रमुख भरत केसी लगायत शैक्षिक उत्थानका निमित्त आआफ्नो धारणा राखेका थिए ।
सोही कार्यक्रममा विभिन्न समयमा क्याम्पसलाई नगद तथा जिन्सी सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पसलाई सहयोग गर्ने रामहरि श्रेष्ठ, विष्णु लक्ष्मी श्रेष्ठ र पुरुषोत्तम दहाललाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF