महिला तथा बालबालिकासम्बी अपराध सबैभन्दा बढी

 आवाज अनलाइन     २३ चैत्र २०७४, शुक्रबार

दोलखा, चैत २३ । प्रहरी नायव महानिरीक्षक पुष्कलराज रेग्मीले अन्य क्षेत्रको अपराधको तुलनामा महिला तथा बालबालिकाको क्षेत्रमा अपराध धेरै हुने गरेको बताएका छन् ।
सदरमुकाम चरिकोटस्थित नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको उद्घाटन गर्दै नायव महानिरीक्षक रेग्मीले सबैको सहयोगमा मात्रै महिला तथा बालबालिकाको क्षेत्रमा हुने गरेको अपराघ घटाउन सकिने बताए ।
उनले देशमा महिला तथा बालबालिकाको लागि छुट्टै कानुन बनेको भएता पनि विभित्र समस्याका कारण कानुनको पालना हुन नसकेको स्वीकार गरे । कानुन मात्रै बनेर नहुने उल्लेख गर्दै कानुनको सही ढङ्गले पालना गर्न सबै प्रहरी उत्तिकै रुपमा लाग्नुपर्ने उनले बताए ।
नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवन नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा १ करोड २२ लाख ६२ हजार ६ सय ९८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लैंगिक हिंसा नियन्त्रणमा सहयोग पुर्याएको भन्दै लैंगिक हिंसा नियन्त्रण कार्यकारी समितिका अध्यक्ष सृजना कार्की, नागरिक समाजका अध्यक्ष दीपशंकर चौलागाईं, पत्रकार रवीन्द्र गौतम र कुलप्रसाद दहाल, सुर्जा दहाल, शशिकला चौहान, देवी वस्याल, सरस्वती जिसी, शान्ति खड्कालाई सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।