जनमुखी सहकारी ऋण लगानी, पुनरावेदनले जिल्लाको फैसला सदर

 आवाज संवाददाता     २५ असार २०७३, शनिबार

दोलखा, २४ असार
प्रक्रिया नै नपु–याई करोडौँ ऋण लगानी गर्ने दोलखा स्थितको जनमुखी वचत तथा ऋण सहकारी संस्था काब्रेका ३ जना धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुनेहरुमा ऋण विभागकी कर्मचारी इन्दिरा कार्की १ लाख र ऋण उपसमिति सदस्यहरु रमेश दाहाल र जुना मिजार जनही ५ लाख धरौटीमा रिहा भएका छन ।
पुनरावेदन अदालत पाटनमा शुक्रबार बहसपछि भएको आदेशले व्यवस्थापक सहित सदस्यहरुलाई जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । जिल्ला अदालत दोलखाले डेढ महिना अघि अभियुक्त सबैलाई पुर्पक्षका लागि कारागार चलान भएका थिए ।  जिल्ला अदालतको फैसला चित्त नबुझे पुनरावेदन जान पाउने नियम बमोजिम विपक्षीहरु पुनरावेदन अदालत पुगेका थिए ।
पुनरावेदनको आदेशपछि व्यवस्थापक, अध्यक्ष माधवप्रसाद दाहाल, सचिव कृष्णप्रसाद दाहाल र ऋणहरु दिपककुमार राउत र राधाकृष्ण दाहाल पुर्पक्षमा बस्नुपर्ने भएको छ । हाल व्यवस्थापक कारागारमा छन् भने  अध्यक्ष माधव प्रसाद दहाल, सचिव कृष्ण प्रसाद दहाल र ऋणी द्धय दीपक कुमार राउत तथा राधाकृष्ण दहाल फरार रहेका छन् ।
जिल्ला अदालत दोलखाका श्रेस्तेदार कुल प्रसाद दहालका अनुसार तत्कालका प्रमाणबाट निज प्रतिवादीहरुले जम्मा विगो चार करोड रुपैयाँ ठगी गरेको भन्ने कुराबाट कसुरदार होइनन् भन्ने नखुलेकाले पछि प्रमाण बुभ्mदै जाँदा कसुरको प्रकृति हेरी ठगीको महल ४÷५ वमोजिम पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको हुँदा हाललाई मुलुकी ऐन अदालती बन्दावस्ती महलको ११८(२ )वमोजिम पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था भएको बताए ।
वचतकर्ता बाल कुमार दहाल , पोष्ट बहादुर दहाल, भुवन कुमार घिमिरेलगायतले ठगीको मुद्दा दर्ता गराएपछि कार्वाही अघि बढेको थियो ।  कार्य समितिमा जानकारी तथा निर्णय नै नगराई गोप्य रुपले चार करोड रुपैयाँ विनाधितो लगानी गरेको देखिएपछि सञ्चालक समितिले अध्यक्ष, सचिव र व्यवस्थापक तिनै जनालाई निलम्बन गरेको छ ।
प्रक्रिया मिचेर ४ करोड ऋण लगानी गरेको आरोप लागे तापनि हाल ऋण असुल भइसकेको सहकारी स्रोतले जानकारी दिएको छ । नियमानुसार ऋणको ६ महिनापछि किस्ता सुरु हुने भए तापनि किस्ता सुरु हुने ग्रेस समय भित्रै ऋण असुल भइसकेको जनाएको हो । तर जिल्ला प्रहरी कार्यालय दोलखाले दोषीहरुको बचत र ऋणका सम्पूर्ण खाता बन्द गर्ने पत्र दिएकाले दुबै ऋणीबाट असुल भएको रकम बेवारिसे भएको सहकारीका सञ्चालकहरु बताउँछन् ।
गत माघ १५ गते ऋणको माग फाराम भरिएको छ । विनाधितो तथा साक्षी समेत नरहेको तमसुक मात्र रहेको छ । धितो रोक्का तथा पारित भएका कागजात कुनै पनि थिएन ।  यसरी विनाधितो ऋण लिनेमा मिर्गे–३ का दीपक कुमार राउत र काब्रे–४ का राधाकृष्ण दहाल रहेका थिए ।  सहकारी स्रोतका अनुसार ऋण लगानी प्रक्रिया गलत भयो भनेर उजुर गर्नेहरु पनि सहकारीको ऋण लिएर भाखा नाघेका ऋणीहरु हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।