विरोध प्रदर्शन अब टुँडिखेलमा मात्रै !

 आवाज अनलाइन     २३ चैत्र २०७४, शुक्रबार

दोलखा चैत २३
राजनीतिक र पेशागत सौदाबाजीका लागि विरोध प्रदर्शन नेपालमा सामान्य जस्तै भएको छ । अझ यस्तो विरोध प्रदर्शन जहाँसुकै पनि गर्ने प्रचलन छ । तर जिल्ला प्रशासन कार्यालय दोलखाले जतासुकै विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखा एक सूचना प्रकाशित गरी जतासुकै विरोध प्रदर्शन गर्न रोक लगाएको हो । सूचना जारी गरी यसअघि जतासुकै हुँदै आएको विरोध प्रदर्शन अबदेखि सदरमुकाममा रहेको टुँडिखेलमा मात्रै गर्न भनिएको छ ।
विभिन्न आन्दोलनका नाममा प्रमुख राजमार्ग, मुख्य बजार क्षेत्रमा विरोध प्रदर्शन गर्दा शान्ति सुरक्षा तथा सवारी आवागमनमा अवरोध उत्पन्न भई सर्वसाधारणको दैनिक जीवन अस्तव्यवस्थ भएकोले जतासुकै गरिने विरोध प्रदर्शनलाई रोक लगाइएको सूचनामा उल्लेख छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ (५) तथा गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा ३० बमोजिम विरोध प्रदर्शनका कार्यक्रम टुँडिखेलमा मात्रै गर्न सूचित गरिएको छ । यसको बर्खिलाफ गरे स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF