राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन खेलमा कालिन्चोक मावि विजयी

 आवाज अनलाइन     २४ चैत्र २०७४, शनिबार

दोलखा, चैत २४
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ दोलखा सदरमुकाम चरिकोटको कालिन्चोक माविमा सातौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
विभिन्न खेलकुद समावेश प्रतियोगिताको उद्घाटन भलिबल प्रतियोगिताबाट गरिएकोमा सो उद्घाटन खेलमा कालिन्चोक माविले जित हात पारेको छ । सहिद स्मृति आवासीय माध्यमिक बिद्यालय जिरीलाई ३–१ को सेटमा हराउँदै कालिन्चोक माविले जित हात पारेका हो । भलिबल प्रतियोगिता वेष्ट अफ फाइभ र नकाउट चरणमा भैरहेको छ ।
आजै भएको छात्रातर्फको दोस्रो भलिवल प्रतियोगितामा कालिनाग माध्यमिक बिद्यालय सुनखानीले कालिका माध्यमिक बिद्यालय सुन्द्रवातीलाई ३–२ ले हराउदै जित हात पारेको छ । त्यस्तै छात्रा भलिबल प्रतियोगितामा गौरीशंकर माध्यमिक बिद्यालय लामबगरले माउन्ट भ्याली स्कुल चरिकोटलाई ३–० ले हराउँदै जित हात पारेको छ ।
त्यस्तै छात्रा भलिबल प्रतियोगितामा हिमालयन मावि खोपाचाँगुुले भिम माध्यमिक बिद्यालय दोलखालाई ३–० ले हराउँदै जित हात पारेको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमको व्यानर पढेर प्रतिनिधि सभा सदस्य शान्ति माया पाख्रिनले गरिन् भने जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डेले उद्घाटन खेलमा बल सर्भिस गरेर उद्घाटन गरे । चरिकोट स्थित कालिञ्चोक माध्यमिक बिद्यालयको प्रांगणमा प्रतियोगिता सञ्चालन भैरहेको छ ।
प्रतियोगितामा भलिबल छात्रछात्रा, डौडमा सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र रिले डौड छात्रछात्रा खेलाइने छ । त्यस्तै हाइजम्प, लङजम्प, त्रिपल जम्प छात्रछात्रा र सटफुट छात्रछात्रा खेलाइने छ । यसका साथै प्रतियोगितामा मार्शल आर्ट्सका खेलहरुसमेत समावेश छन् ।
प्रतियोगिताको उद्घाटन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकरको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २० छात्र टिम र १३ छात्रा टिमको सहभागिता छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF