राष्ट्रपति रनिङ शिल्ड बौद्ध भुवनेश्वरी माविलाई

 आवाज अनलाइन     २८ चैत्र २०७४, बुधबार

दोलखा, चैत २८
सातौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि जिल्लास्तरीय खेलकुद प्रतियोगिताको उपाधि बौद्धभुवनेश्वरी माविले हात पारेको छ । सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविलाई पछि पार्दै बौद्धभुवनेश्वरी माविले उपाधि जितेको हो ।
विद्यालयले प्राप्त गरेको स्वर्ण पदकको आधारमा सबैभन्दा बढी ६ स्वर्ण पदक पाउने बौद्धभुवनेश्वरी माविले प्रतियोगिताको उपाधि जितेको छ भने ५ स्वर्ण पदकसहित कालिन्चोक माविले दोस्रो स्थानमा चित्त बुझाएको छ । त्यसैगरी ३ स्वर्ण पदकसहित सहिद स्मृति आवासीय मावि जिरीले तेस्रो स्थान प्राप्त गरेको छ ।
विजयी विद्यालय तथा खेलाडीहरुलाई पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार, १२ हजार र ९ हजार नगद पुरस्कारसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ भलिबल, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुटका साथै एकसय, दुईसय, चारसय, आठसय र रिले दौड समावेश थिए ।


राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकरको अध्यक्षामा सम्पन्न भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF