प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण, ढिलासुस्ती नगर्न निर्देशन

 आवाज अनलाइन     २८ चैत्र २०७४, बुधबार

दोलखा, चैत २८
स्वदेशी लगानीमा निर्माण भैरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जनविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले आयोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्नु नहुने बताएका छन् ।
आयोजना निर्माणमा ढिलाई भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले आयोजनाको निरीक्षण गरी ढिलासुस्ती नगरी समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले आयोजना निर्माणका क्रममा देखिएका समस्या र जटिलता हटाउन सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले आयोजनाको विद्युतगृह तथा बाँधस्थलको अवलोकन तथा निरीक्षण गरेका थिए ।
प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, चिनियाँ राजदुत यु होङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीहरुको उपस्थिति थियो ।
विगु गाउँपालिकाको लामाबगरमा निर्माणाधी ४५६ मेगावाटको सो आयोजनाको ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सुरु लागत ३५ अर्व २९ करोड रहेको आयोजनामा हालसम्म ३७ अर्व ७१ करोड रुपैयाँ खर्च भैसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
आयोजना २०७५ पुस महिनामा सम्पन्न गर्ने लक्ष्य रहे पनि भारतीय टेक्सम्याको कम्पनीले जिम्मा लिएको हाइड्रोमेकानिकल काममा भएको ढिलाइका कारण सम्पूर्ण आयोजना नै ढिला हुने देखिएको छ । भारतीय कम्पनीको कारण आयोजना ढिलाइ भैरहेका बेला प्रधानमन्त्री ओलीले भारतको भ्रमणबाट फर्केलगत्तै आयोजनाको निरीक्षण गरेका हुन् ।
लट २ मा पर्ने हाइड्रोमेकानिकलको काम अन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर आदिमा गेटहरु, पेनस्टक स्टिल पाइप आदिको डिजाइन, जडान, परीक्षण र कमिसनिङ आदि कार्यहरु पर्दछन् । बाँधस्थल, इन्टेक, डिस्याण्डरको गेटहरुको काममा प्रगति देखिए पनि भर्टिकल टनेलमा पेनस्टक पाइप जडानको काममा खासै प्रगति देखिएको छैन ।

तस्विरः अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठको फेसबुकबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF