काठमाडौंको दाँजोमा तराई र हिमालमा ‘मूल्यवृद्धि’

 अावाज स‌‌वाददाता     २ बैशाख २०७५, आईतवार

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ ।

क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा २.८ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको थियो । यस्तै २०७३ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकामा २०७४ फागुन महिनामा सो मुद्रास्फीति ६.० प्रतिशत कायम भएको छ ।

तरकारीको भाउ बढ्यो 
पछिल्लो विवरणअनुसार तरकारीजन्य वस्तुको मूल्यमा आएको वृद्धिका कारण समग्र मुद्रास्फीति बढ्न गएको हो । आठ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.० प्रतिशतमा नै रहेको छ । खाद्य मुद्रास्फीति २०७४ फागुन मसान्तमा खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा मूलतः तरकारीजन्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

गैरखाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको शिक्षा, घरायसी सामान तथा सेवालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा बढी रहेकाले गैरखाद्य मुद्रास्फीति बढ्न गएको हो ।

चालू आवको आठ महिनासम्ममा कूल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ ९.८ प्रतिशत, चीनतर्फ ६२.० प्रतिशत र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको छ ।

अलैँची, जुटको बोरा, धागो, पोलिस्टरलगायत वस्तुको निर्यात बढेको छ भने जिआई पाइप, जुस, ऊनी गलैँचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु सात खर्ब ६७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.३ प्रतिशत, चीनबाट भएको आयात २२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा सो अवधिमा पेट्रोलियम पदार्थको आयात रु एक खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर रु ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपूर्जाको आयात रु ८४ अर्ब ९१ करोड पुगेको छ ।

भन्सार नाकाका आधारमा वीरगञ्ज, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको छ । सो अवधिमा कूल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेर रु सात खर्ब १३ अर्ब ९३ करोड पुगेको छ । सो अवधिमा निर्यात–आयात अनुपात ७.० प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.७ प्रतिशत रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।