३ सय ४६ ले सगरमाथा चढ्ने

 अावाज स‌‌वाददाता     ८ बैशाख २०७५, शनिबार

पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६ सय ९८ जनाले आरोहण अनुमति लिएका  छन्। यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३ सय ४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमति लिएका धेरै टिम बेसक्याम्प पुगिसकेका र सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ।

अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ टिमका ८ सय ३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए। यसमध्ये ४३ वटा टिमका ३ सय ३६ आरोही सगरमाथा आरोहणमा गएका थिए।

सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ। विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताए।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन्। यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।