८ वर्षमा जम्मा २ किलोमिटर ट्रयाक

 अावाज स‌‌वाददाता     ८ बैशाख २०७५, शनिबार

तीन देश जोड्ने सबैभन्दा छोटो उत्तर–दक्षिण लोकमार्ग तामाकोसी–लामाबगर–चीन सीमा सडक निर्माण सुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म २ किलोमिटर ट्रयाकसमेत खुल्न सकेको छैन । आर्थिक वर्ष ०६६/०६७ देखि विभिन्न प्याकेजमा टेन्डर आह्वान गरी सुरु भएको सडक निर्माण सम्बन्धित निकायको बेवास्ताले ८ वर्षमा जम्मा २ किलोमिटर ट्रयाक खुलेको छ ।

लामाबगरदेखि तिब्बत सिमाना ङ्याङलुङसम्म जम्मा १३ किलोमिटर छ । चीन सरकारले तिब्बतको ङ्याङलुङसम्मै सडक बनाइसकेको छ । दुई देशको सिमानाबाट तिब्बततिरको नजिकको बस्ती फलाक हो भने नेपालतिरको बस्ती लामाबगर हो ।

नेपाल सरकारले चालू आर्थिक वर्ष ०७४/०७५ को लागि ३ करोड यो सडकका लागि विनियोजन गरेको छ । यो सडकको लामाबगरपारिको खण्ड निर्माणको जिम्मा लामा समानन्तर जेभीले लिए पनि कडा चट्टानका कारण उल्लेख्य प्रगति गर्न नसकिएको जनाएको छ । सरकारले आर्थिक वर्ष ०७३/०७४ मा सडकमा १० करोड रकम विनियोजन गरेको थियो । सो बजेटको एकतिहाइ पनि खर्च हुन नसकेको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ०७२/०७३ विनियोजन गरेको ३ करोड पनि खर्च हुन सकेको थिएन । त्यसअघि ०७१/०७२ मा २ करोड बजेट विनियोजन गरेकोमा एक करोड मात्रै खर्च भएको डिभिजन सडक कार्यालय चरिकोटका सूचना अधिकारी कमल साहले जानकारी दिए ।

९ सय मिटर सुरुङ बनाउन प्रस्ताव
माथिल्लो तामाकोसी बाँध प्रभावित क्षेत्रमा चिनियाँ कम्पनी सिनो हाइड्रो र जर्मन परामर्श दाता ल्याह्मेर इन्टरनेसनलका विशेषज्ञमार्फत ९ सय मिटरको सुरुङ मार्ग डिजाइनसमेत गरेर सडक विभागलाई बुझाएको छ । तर त्यसबारे सडक विभागले कुनै प्रतिक्रिया दिएको छैन । माथिल्लो तामाकोसीको बाँधलाइसमेत असर नपार्ने गरी सुरुङ निर्माण भयो भने त्यसभन्दा माथि सजिलो भाग देखिएको उनीहरूको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF