भूकम्प पीडित र जेहेन्दार विद्यार्थीलाई एक लाख रुपैयाँ छात्रवृत्ति

 आवाज अनलाइन     १० बैशाख २०७५, सोमबार

दोलखा, बैशाख १०
२०७२ सालको विनासकारी भूकम्पमा परी अभिभावक गुमाएका र जेहेन्दार विद्यार्थीहरुले एक लाख रुपैयाँ छात्रवृत्ति पाएका छन् ।
कालिन्चोक गाउँपालिकाका ६ जना भूकम्पपीडित तथा जेहेन्दार विद्यार्थीहरुले हिमालयन अर्थक्वेक प्रिपेयरनेस सेन्टरमार्फत एक लाख रुपैयाँको छात्रवृत्ति पाएका हुन् । चारजना अनाथ बालबालिकाहरुलाई जनही २० हजार र २ जना जेहेन्दार विद्यार्थीहरुलाई १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । सेन्टरका अध्यक्ष कृष्णप्रसाद शिवाकोटीले बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको अध्ययनका लागि वार्षिक रुपमा प्रदान गरिने शिवाकोटीले जानकारी दिए ।
विनासकारी भूकम्पमा परी अभिभावक गुमाएका कालिन्चोक गाउँपालिका लापिलाङस्थित भगवती आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत गंगा कार्की, सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत जमुना कार्की, जनआधाभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत विपिन बस्नेत, सूर्योदय आधारभूम विद्यालयको कक्षा ४ मा अध्ययनरत मनोज आचार्यलाई जनही २० हजार रुपैयाँका दरले रकम प्रदान गरिएको छ । त्यसैगरी कालीनाग माविको कक्षा ९ मा अध्ययनरत जेहेन्दार विद्यार्थी कुशल सेढाईँ र सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत हितेश शिवाकोटीलाई जनही १० हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ । यी जेहेन्दार विद्यार्थीहरुलाई समेत एसईईसम्म छात्रवृत्ति प्रदान गरिने सेन्टरका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिकाका विभिन्न बिद्यालयमा अध्यानरत गरिब, जहेन्दार र भुकम्पमा परी अभिभावक गुमाएका जम्मा १५ जना बालबालिकाहरु बिगत दुइ बर्षदेखि सेन्टरले वार्षिक रुपमा जनही २० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । सेन्टरले पहिलो पटक १५ जनालाई, दोस्रोपटक ८ जनालाई र यसपटक ६ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।
सेन्टरले दोलखा जिल्लालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने उद्घोष समेत गरेको छ । यसको सुरुवात कालिन्चोक गाउँपालिकाबाट स्थानीय सरकारसँग सहकार्य गर्दै गर्ने सेन्टरका अध्यक्ष शिवाकोटीले बताए । कालिन्चोक गाउँपालिकाबाट सुरु गरिएको प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानलाई जिल्लाभर लगिने पनि उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF