भीमेश्वर नगरका विद्यार्थीलाई एउटै ड्रेस कोड

१ हजार विद्यार्थीलाई एकै रङका ट्र्याकशुट निःशुल्क

 अावाज स‌‌वाददाता     ११ बैशाख २०७५, मंगलवार

 दोलखाको भीमेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र विद्यालय तहका सबै विद्यार्थीलाई एउटै एउटै ड्रेस कोड लागू गरेको छ । नयाँ शैक्षिक सत्र २०७५ देखि नगरपालिका क्षेत्रभित्रका निजी तथा सामुदायिक सबै विद्यालयमा एउटै ड्रेस कोड लागू गरिएको हो । नगरपालिकाका विद्यालयहरूमा विद्यालयअनुसार फरक फरक ड्रेस कोड रहेकोमा सबै विद्यार्थी समान हुन् भन्ने भावनाको विकास गर्न एउटै ड्रेस कोड लागू गरिएको नगरपालिकाले बताएको छ । आफ्नो पहिचानका लागि विद्यालयहरूले पहिचान झल्कने लोगो भने प्रयोग गर्न पाउँछन् ।

एउटै ड्रेस हुँदा ‘गरीबका छोराछोरी’ पढ्ने सामुदायिक विद्यालय र ‘धनीका छोराछोरी’ पढ्ने निजी विद्यालय भन्ने सोचमा पनि कमी आउने नगरको दाबी छ । सरकारी तथा निजी विद्यालयसँग व्यापक छलफलपछि ड्रेसकोड निर्धारण गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका आधारभूत तह (कक्षा १–५)मा सामुदायिक विद्यालयमा अध्ययन गर्ने करीब १ हजार विद्यार्थीलाई एकै रङका ट्र्याकशुट निःशुल्क वितरणका लागि करीब रू. २० लाखको टेण्डरमार्फत खरीद गरेको थियो ।
मङ्गलवार भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटी डाँडा माध्यमिक विद्यालयमा भर्ना अभियान तथा पोषाक वितरण समारोहमा मेयर भरतबहादुर केसीले ट्र्याकशुट वितरण गरेका थिए । एउटै ड्रेस हुँदा विद्यार्थीमा जहाँ पढे पनि समान हौं भन्ने मनोविज्ञानको विकास हुने तथा यसबाट सिकाइमा सकारात्मक प्रभाव पर्ने अपेक्षा उनले गरे ।

तोकिएको ड्रेस कोडअनुसार जेठभित्र कपडा सिलाउन सामुदायिक तथा निजी विद्यालयले सबै विद्यार्थीलाई निर्देशन दिइसकेका छन् । शिक्षकलाई भने जिल्लाका सबै स्थानीय तहमा एकै प्रकारको हुनेगरी ड्रेस कोड तोक्ने गृहकार्य भइरहेको शिक्षक महासङ्घ, दोलखाले बताएको छ । नगरपालिका क्षेत्रभित्र हाल सामुदायिक ४६ तथा निजी १२ गरी कुल ५८ विद्यालयमा करीब १२ हजार विद्यार्थी अध्ययनरत रहेको भीमेश्वर नगर, शिक्षा शाखाले जानकारी दिएको छ ।

आर्थिक अभियान

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF