काठमाण्डौ, २६ असार । फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप)अन्तर्गत पहिलो चरणका ३/३ खेल सकिँदासम्म पोर्चुगललाई फाइनलसम्मको यात्रा गर्छ भनेर कसैले पनि पत्याएको थिएन ।
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसहितको टोली पोर्चुगल कम आँकिएका टोलीहरु आइल्याण्ड, अष्ट्रिया र हंगेरीसँग बराबरी खेल्यो र ३ अङ्कका साथ समूहमा तेस्रो हुँदै दोस्रो चरणमा गयो । समूह विजेता र उपविजेता स्वत दोस्रो चरणमा जाने नै भए । जसअनुसार हंगेरी पहिलो र आइसल्याण्ड दोस्रो भए । छ मध्ये ४ उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा जाने प्रावधानअनुरुप पार्चुगलले बाजी मार्यो । पोर्चुगलले समान ३ अङ्क जोडेका टर्की र अल्वानियालाई गोलअन्तरमा पछिपार्दै दोस्रो चरणको टिकट काटेको हो ।
यसपटकको युरोकपदेखि सहभागी राष्ट्रको संख्या १६ बाट बढाएर २४ पुर्याइएको हो । पहिलो १६ मध्ये ८ टोली समूह चरण पार गर्दै दोस्रो चरणमा जान्थे । जसमा प्रत्येक समूहमा रहेका ४ मध्ये २ टोली मात्र हुन्थे । यो पटक कोटा बढाएसँगै उत्कृष्ट ४ तेस्रो टोलीपनि दोस्रो चरणमा जाने भाग्यमानीमा परे । त्यो मध्ये एउटा पोर्चुगल थियो । यदि पहिलेजस्तो २ टोली बाहिरिने प्रावधान भएको भए पोर्चुगल पहिलो चरणबाटै निराश हुँदै घर फर्किएको हुन्थ्यो । नयाँ नियमले उ भाग्यमानी भयो । पोर्चुगलको भाग्यमानी यात्रा त्यतिमै सीमित रहेन । उ निर्धारित ९० मिनेटभित्र कुनै खेल नजिती सेमिफाइनलसम्मको यात्रा गर्न सफल भयो । प्रि–क्वार्टरफाइनलको अतिरिक्त समयमा गोल गर्दै तुलनात्मक बलियो टोली क्रोएसियालाई हराएको पोर्चुगलले क्वार्टरफाइनलमा पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पाखा लगायो । त्यसपछि सेमिफाइनलमा मात्र वास्तविक खेल देखाएको पोर्चुगलले ग्यारेथ बेलप्रेरित वेल्सलाई ९० मिनेटभित्रै २–० ले हरायो । जसमा १ गोल र एक एसिष्ट गरेका कप्तान रोनाल्डो नायक बने । योसँगै पोर्चुगलले १२ वर्षपछि पहिलोपटक र युरो इतिहासमै दोस्रो पटक फाइनल यात्रा गरेको छ । अब उसको भेट तुलनात्मक रुपमा बलियो मानिएको टोली फ्रान्ससँग हुनेछ ।
अर्कोतिर आयोजक फान्स समूह चरणमा २ जित १ बराबरीसहित पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रि–क्वार्टरफाइनलमा उसले आयरल्याण्डलाई २–१ ले पाखा लगाउदा क्वार्टरफाइनलमा सरप्राइज टोली आइसल्याण्डलाई ५–२ ले हराउन सक्यो । सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हराएपछि फ्रान्स फाइनलमा पुगेको हो ।
फ्रान्स र पोर्चुगलबीच आज मध्यराति हुने फाइनल खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण छ । पछिल्ला केही वर्ष विश्व फुटबलमा केही फिका देखिएको फ्रान्स घरमै भएको प्रतियोगिता जित्दै पुराँनै साख फर्काउन चाहन्छ । सन् १९८४ र २००० गरी दुई पटक युरोकप जितेको फ्रान्स तेस्रो पटक जित्दै स्पेन र जर्मनीसँग बराबरी गर्न चाहन्छ । यता पोर्चुगल अझैपनि अन्तराष्ट्रिय फुटबलमा पहिलो उपाधिको खोजीमा छ । सन् २००४ मा घरमै आयोजना भएको प्रतियोगिताको फाइनलमा ग्रीससँग उपाधि गुमाएको पोर्चुगल यो पटक फेरी निराश हुन चाहँदैन । यसको संकेत कप्तान रानाल्डोले दिइसकेका छन् ।
सेमिफाइनलमा वेल्समाथि उत्कृष्ट नतिजा निकालेपछि उनले भने, “प्रतियोगिता अघि कसैले पनि हामीलाई दावेदार मानेका थिएनन् । तर हामी कडा मेहेनतले यहाँसम्म आउन सफल भयौं । अब उपाधिका लागि हामी सक्दो प्रयास गर्नेछौं ।”
यता आयोजक फ्रान्सले घरेलु मैदानमा राम्रो नतिजा ल्याउने गरेको छ । सन् १९८४ मा युरोकप र १९९८ मा विश्वकपको ट्रफी घरमै राखेको फ्रान्स त्यही नतिजा दोहारयाउने दाउमा छ । यदि यो पटक पनि घरमै युरोकप जिते फ्रान्स घरेलु शेर कहलाउने छ ।
फुटबल पण्डितका कुरा मान्ने हो भने फ्रान्स पोर्चुगलभन्दा इतिहास, वर्तमान, कागज र मैदान सबै हिसाबले बलियो छ । हुनपनि पोर्चुगलले फ्रान्सलाई १९७५ यता हराउन सकेको छैन । पछिल्लो पटक २००६ को विशवकप सेमिफाइनलमा फ्रान्सले पोर्चगललाई १–० ले निराश बनाएको थियो । यो नतिजालाई निरन्तरता दिने संकेत फ्रान्सेली टोलीले दिइसकेको छ । प्रशिक्षक डिडियर डेस्चाम्प्सको कुरा यही छ । पछिल्लो समयमा आतंकवाद प्रताडित फ्रान्सेली जनतालाई संबोधन गर्दै उनले भनेका छन्, “पछिल्लो समयमा दुःखी फ्रान्सेलीकोे खुसी अब फुटबलले फर्काउनेछ ।”
जारी प्रतियोगितामा ६ गोल र २ एसिष्ट गरिसकेका एन्थोनी ग्रिजम्यान फ्रान्सेली टोलीका नायक सावित भइसकेका छन् ।
यसअलावा पनि फ्रान्समा स्टार खेलाडीको भने कुनै कमी छैन । कप्तान तथा गोलकिपर ह्युगो लरेन्स, ओलिभर जिरोउड, दिमित्री पायट, पउल पोग्वा, प्याट्रिक इभरा जस्ता विश्वस्तरीय खेलाडी सम्मिलित टोलीले उपाधिबाहेक अरु सोचेको छैन ।
अर्कोतिर यसअघि रोनाल्डोको भरपर्ने टोली भनिएको पोर्चुगलले यो पटक टिम गेम देखाइरहेको छ । उसका कोलकिपर रुइ पेट्रिसियो, नानी, पेपे, रेनेटो सान्चेस, रिकार्डो क्वारेज्मा आदि खेलाडीले टोलीलाई परेको बेला योगदान गरिहेका छन् । त्यसैले फाइनलमा पनि त्यही क्रम नदोहोरिएला भन्न सकिन्न ।
तसर्थ ‘घरेलु शेर’ फ्रान्स र ‘भाग्यमानी’ पोर्चुगलबीच हुने फाइनल खेल राेमाञ्चक हुने अनुमान गरिएको छ ।
सरल पत्रिका अनलाइनमा दीपेन्द्र सापकाेटाले लेखेका छन् ।