लामाबगर–फलाक नाका खोल्न कुटनीतिक प्रयास गरिने

 आवाज अनलाइन     १८ बैशाख २०७५, मंगलवार

दोलखा, बैशाख १८
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुनै पनि बहानामा कुनै पनि सिन्डिकेट नटिक्ने बताएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको उद्घाटन गर्ने क्रममा मन्त्री ज्ञवालीले सबै प्रकारको सिन्डिकेटको चर्को विरोध गर्देै उपभोक्ताले पैसा तिरेपछि राम्रो सेवा लिन पाउनुपर्ने जिकिर गरे । उनले प्रतिस्पर्धात्मक व्यापार नीतिमार्फत मुलुकलाई १० वर्षमा मध्यम विकासशील देश बनाउने ठोकुवा समेत गरे ।
मन्त्री ज्ञवालीले सबै देशको स्वाभिमान र सार्वभौमसत्ता बराबर हुने भएकाले नेपालको आन्तरिक मामलामा कतैबाट दखल नहोस् भन्न चाहेको बताउँदै देशको मुख्य शत्रु भनेकै गरिबी भएकोले बताए । उनले भारत र चीनप्रति कुनै प्रकारको प्रतिशोध नभएको र दुवै राष्ट्रसँग विकासको यात्रामा सँगै जोडिन र लाभान्वित हुन चाहेको बताए ।
उनले देशका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई व्यवस्थित गर्न सके नेपालीहरु रोजगारीका लागि विदेशी दुतावास धाउनु नपर्ने बरु उल्टै विदेशीहरु नेपालमा श्रम गर्न आउने दावी गरे । उनले भने, ‘हिजोका दिनमा राणा शासन, राजा शासनले देशलाई गरिबी, अन्धकार, पछौटेपनमा धकेल्यो तर आज स्पस्ट बहुमत सहितको स्थिर जनताको शासन सुरु भइसकेको छ । अब सत्ता पक्ष र प्रतिपक्ष दुवै मिलेर राष्ट्र निर्माणमा अघि बढ्नुपर्छ ।’
मल्ल कालमा समेत चल्तीमा रहेको लामाबगर फलाक नाकाले त्रिदेशीय व्यापारमा सहजता ल्याउने उल्लेख गर्दै मन्त्री ज्ञवालीले उक्त नाका खोल्न कुटनैतिक पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेल, प्रतिनिधि सभा सदस्य शान्ति माया पाख्रिन, प्रदेश सभा सदस्यत्रय पशुपति चौलागाईं, विशाल खडका र सरस्वती वस्नेत, जिसस प्रमुख डलब पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
अपाङ्गता मैत्री बहुप्रकोप प्रतिरोधात्मक पुस्तकालयमा महिला कक्षा, बाल कक्ष, युवा कक्ष, सुचना प्रविधि कक्ष, श्रव्य दृश्य कक्ष, पुस्तकालय कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष र सभा कक्ष समेत रहेका छन् । सो पुस्तकालय रिड नेपाल, एएसवी, एडिएच जर्मन र स्थानीय समुदायको संयुक्त आर्थिक तथा प्रविधिक सहयोगमा निर्माण भएको हो । सो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भवन निर्माणमा २ करोड ८० लाख खर्च भएको आयोजकले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।