उपराष्ट्रपतिद्वारा विद्यालय भवन उद्घाटन, कार्यक्रममै क्रिश्चियन धर्म प्रचार !

 आवाज अनलाइन     १८ बैशाख २०७५, मंगलवार

दोलखा बैशाख १८
उपराष्ट्रपति नन्दबहादुर पुनले दोलखाको शैलुङ गाउँपालिकास्थित शारदा माविको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा आएका उपराष्ट्रपति पुनले नवनिर्मित भवन उद्घाटन गर्दै शैलुङको सडक सुधार, पर्यटन विकासका लागि सरकारलाई ध्यानाकर्षण गर्ने बताए ।
भुकम्पले जनताको आवास क्षति पु¥याएको लामो समयसम्म पीडितहरु अस्थायी टहरामा बस्न बाध्य हुनु लाजमर्दो भएको बताए । उनले शैक्षिक संस्थाका भवन र निजी घर चाँडो बनाउन सरकारको ध्यानाकर्षण समेत गराए । शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नहुने उल्लेख गर्दै उनले भने ‘सामुदायिक विद्यालयको गुणस्तर खस्कँदो छ, अब बालबालिकालाई व्यवहारिक र वैज्ञानिक शिक्षा आवश्यक छ ।’
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले शैलुङ कृषिमा आलु र पर्यटनमा प्रकृतिले नै उपहार दिए तापनि सडकको अवस्था दयनीय भएको बताए । शैलुङको विकास हुँदा सिङ्गो देशले समेत लाभ लिने भएकोले सरकारले यसमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
१२ कोठे २ वटा विद्यालय भवन, अपाङ्गमैत्री शौचालय निर्माणका लागि २ करोड ५० लाख खर्च भएको जानकारी आयोजकले जानकारी दिए । भूकम्प लगत्तै स्थानीय चर्चको आव्हानमा राहत वितरण गरेको प्रसङ्ग कोट्याउँदै दयाका हातहरु नामक संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीले त्यसैको श्रृङ्खला अन्र्तगत विद्यालय भवन पनि निर्माण गरेको बताए । विद्यालय भवन निर्माणका लागि सिंगापुर रेडक्रस सोसाइटीले सहयोग गरेको हो । विद्यालयलाई १२५ थान डेक्स बेन्च, १५ थान कम्प्युटर समेत विद्यालयलाई सहयोग गरेको जानकारी दिइयो ।

कार्यक्रममै क्रिश्चियन धर्म प्रचारमा विद्यार्थी प्रयोग

उपराष्ट्रपतिले विद्यालय भवन उद्घाटन गरेको कार्यक्रममै विद्यार्थीहरु प्रयोग गर्दै उनीहरुलाई क्रिश्चियन धर्म प्रचार गरेको पाइएको छ ।
दोलखाको शैलुङ गाउँपालिमा वडा नं. ८ भैँसेमा क्रिश्चियन धर्म प्रचारमा विद्यालयका बालबालिका प्रयोग भएको पाइएको हो । निकै तामझामका साथ भएको भवन उद्घाटन कार्यक्रममा विद्यार्थीहरुलाई क्रिश्चियन धर्म प्रचार सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई उपहार भन्दै उपराष्ट्रिपति पुनकै हातबाट ती प्रचारसामग्रीहरु वितरण गरिएको हो । विद्यार्थीहरुलाई वितरण गरिएको सामग्री क्रिश्चियन धर्म प्रचारको सामग्री भएको पछि खुलासा भएको थियो ।
कार्यक्रमको अन्तमा शैलुङ गाउँपालिका वडा नंं. ८ का हरेक विद्यार्थीहरुलाई दिने गरी २१ लाख बढीको उपहार दयाका हातहरु नामक एक गैर सरकारी संस्थाले ल्याएको हो । उसले सो वडाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्नका ल्याएको थियो । नमूनाका रुपमा चिठ्ठा हानेर प्रत्येक विद्यालयका एक÷एक जना विद्यार्थी छनौट गरी ८ जनालाई उपराष्ट्रपतिबाटै वितरण गरिएको थियो ।
उपहार कर छुटमा ल्याइएका सामान एक जनालाई वितरण गर्ने उपहारको मूल्य एक हजारभन्दा बढी हुने दयाका हातहरु नामक संस्थाका परियोजना व्यवस्थापक शान्तकुमार भण्डारीले जानकारी दिए । उपहार सरकारकै स्वीकृतिमा वितरण भएको र त्यसमा कुनै धर्मको प्रचार सामग्री नराखेको उनले दाबी गरे । बाहिरबाट आएको उपहार वितरण गरेको र हरेक विद्यार्थीलाई फरक फरक हुन सक्ने भएकाले केके छ भन्ने आफूलाई समेत जानकारी नभएको भण्डारीले बताए ।
उपराष्ट्रपतिले नियमित तालिका अनुसार आफ्नो मन्तव्य राखेपछि कार्यक्रम सञ्चालिकालाई समेत पछाडी हटाएर भण्डारी आफैंले उपहार वितरणको बारेमा जानकारी दिए । उनका अनुसार शैलुङका ८ विद्यालयका २ हजार बढी विद्यार्थीलाई ति उपहार वितरण गर्ने कार्यक्रम छ । विद्यार्थीलाई सानो बाकसमा दिएको उपहार भित्र म्यारी क्रिसमस लेखिएका पुतली, सान्टा ह्याट, सिसाकलम, सानो डायरी लगायतका ८ किसिमका सामग्री थिए । विगतमा पनि सारादा माविमा दयाका हातहरुले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार भित्र बाइबल र क्रिश्चियन धर्म सम्बन्धी सामग्री राखेर दिएका स्थानीयहरुले बताए ।
उपहार वितरण गर्दा सुरक्षाकर्मीलाई समेत झुक्याएको पाइएको छ । ‘नियमति कार्यक्रमभन्दा बाहिरको भएकाले हामीलाई पनि जानकारी दिएन’ उपराष्ट्रपतिका एक सुरक्षा अधिकारीले भने ‘उपहार वितरण हुने बेला कस्तो हो भनेर सोध्दा उनीहरुले एउटा खोलेर देखाए तर पछि अर्कै वितरण पो गरेछन् ।’

गाउँपालिकाबाट उपहार वितरणमा रोक

कलिला विद्यार्थीहरुलाई उपहारका नाममा धर्म प्रचार सामग्री राखेर वितरण गरेको सार्वजनिक भए लगत्तै शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले तत्कालका लागि बाँकी उपहार वितरण रोक्न निर्देशन दिएका छन् । उनले विद्यालय व्यवस्थापन समितिसँग थप छलफल नगरी उपहारका नाममा बालमनोविज्ञानलाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न र उपहार सामग्री वितरण गर्न रोक्ने वडा अध्यक्ष रामेश्वर उप्रेती मार्फत निर्देशन दिएको उनले बताए ।
‘कार्यक्रमका बारेमा हामीलाई कुनै पनि जानकारी नगराई कार्यक्रममा झुक्याएर उपहार वितरण गरे’ उनले भने ‘सानो सहयोगका नाममा झुक्याएर अनावश्यक गतिविधि गर्नेहरुलाई आफ्नो गाउँपालिकामा काम गर्ने अब अनुमति पनि हुँदैन ।’

ध्रुव आचार्यको सहयोगमा

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF