नक्कली परीक्षार्थी पक्राउ

 आवाज अनलाइन     २३ बैशाख २०७५, आईतवार

दोलखा, बैशाख २३
दोलखा सदरमुकाम चरिकोस्थित गौरीशंकर बहुमुखी क्याम्पसबाट अर्कै परीक्षार्थीको नामबाट परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
कालिन्चोक माविका विद्यार्थी सिम्बल नं २२२००५११ का किशन कुँवर योगीको सट्टा परीक्षा दिइरहेका भीमेश्वर नगरपालिका २ का रोशन योगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आइतवार सञ्चालित शिक्षाशास्त्र संकायको कक्षा १२ को शैक्षणिक मूल्यांकन विषयको परीक्षा दिइरहेको अवस्था गौरीशंकर बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट योगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका योगीलाई शिक्षा ऐन २०२८ अनुसार परीक्षामा अनियमितता मुद्दा शीर्षकमा मुद्दा चलाउन अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
भीमेश्वर नगरपालिका २ का किशन कुँवर योगी भने विगत ७ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा दुवईमा रहेको र निजका भतिज पर्ने रोशन योगीले परीक्षा दिइरहेको खुल्न आएको प्रहरीले जनाएको छ । निजले यसअघिको अरु चार विषयको परीक्षा दिइसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF