भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

 अावाज स‌‌वाददाता     २८ बैशाख २०७५, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्।

यसपटक उनी काठमाडौंभन्दा पहिले भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा ९ बजे जनकपुर अवतरण गर्ने छन्।  साढे ९ बजे जानकी मन्दिरमा पूजाअर्चना गरेपछि प्रधानमन्त्री मोदी सवा १० मा बाह्रबिघा मैदानका लागि प्रस्थान गर्नेछन्। त्यहाँ प्रदेश २ को सरकारले उनलाई नागरिक अभिनन्दन गर्नेछ।

त्यसपछि उनी दिनको साढे १ बजे हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन्। त्रिभुवन विमानस्थलमा भने उनको स्वागतमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली पुग्ने बताइएको छ। विमानस्थलबाट सोझै उनी बसाइको लागि व्यवस्था मिलाइएको बौद्धस्थित हायात होटल पुग्नेछन्।

अपरान्ह ४ बजे टुँडिखेलमा प्रधानमन्त्री मोदीलाई नेपाल सरकारका तर्फबाट सम्मानस्वरुप ‘गार्ड अफ अनर’ दिने कार्यक्रम तय भएको छ।

सोपश्चात् भने उनी राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। ४ः३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनसँग बहादुर भवन निवासमा भेट गरेपछि ५ बजे मोदीले राष्ट्रपति निवासमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

शनिबार भने उनले मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। शनिबार नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा काठमाडौं महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन तथा कलात्मक चावी हस्तान्तरण गर्ने छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।