दोलखाका सबै स्थानीय तहलाई तरुण दलको खबरदारी

 आवाज अनलाइन     ३० बैशाख २०७५, आईतवार

दोलखा, बैशाख ३०
नेपाल तरुण दल दोलखाले जिल्लाका सबै स्थानीय तहहरुलाई आफ्नो कामप्रति सचेत गराउँदै भोलि एक घण्टा घेराउ गर्दै ज्ञापनपत्र बुझाउने भएको छ ।
दोलखाका सबै स्थानीय तहहरुले निर्वाचित भएको एक वर्ष बितिसक्दा पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको र विकृति र विसंगति बढेको भन्दै खबरदारी गर्न लागेको नेपाल तरुण दल दोलखाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिकामा घेराउ र ज्ञापनपत्र बुझाउने अभियानको तरुण दल दोलखाले संयोजक समेत तोकेको छ । ती संयोजक सहितको टोलीले भोलि दिउँसो १२ बजेदेखि १ बजेसम्म सबै स्थानीय तहमा घेराउ गर्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको तरुण दल दोलखाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष बितिसक्दा पनि भूकम्प पीडित नागरिकको समस्या समाधान गर्न नसकेको, कतिपय भूकम्प पीडितहरुको लाभग्राहीहरु सूचिमा नाम नआउँदा समेत वेवास्ता गरेको, जिल्ला प्रवेश गर्ने मुख्य सडक लामोसाँघु–जिरी, मुडे–मेलुङ, चरिकोट–दोलखा सहित अधिकांश सडकमार्गमा निर्माण व्यवसायीहरुको लापरबाहीका कारण अस्तव्यस्त हुँदा पनि वेवास्ता गरेको जस्ता आरोप लगाइएको छ । त्यसैगरी विज्ञप्तिमा चुनावका बेला जारी गरेको घोषणापत्र र प्रतिवद्धता पूरा गर्नुको साटो व्यक्तिगत र दलीय स्वार्थबाट प्ररित भएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘बेथिति, विसंगति र संस्थागत भ्रष्टाचार मौलाउने वातावरण सिर्जना गर्न खोज्ने जनप्रतिनिधिलाई पुःन सचेत र खबरदारी गर्न चाहन्छौँ ।’
जिल्लाका कतिपय स्थानीय तहमा भ्रटाचार बढेको, गाउँपालिका र वडातहका जनप्रतिनिधिहरु स्वयं स्थानीय तहको ठेक्कापट्टा, व्यवसाय लगायतका कामहरुको हिस्सेदार बन्ने गरेको, कतिपय जनप्रतिनिधिहरुले आफ्नै डोजर प्रयोग गरेर गाउँपालिकाको बजेट दोहन गरेको, कोटेशनका कामहरु आफैँ लिन गरेको, यातायात लगायत फजुल खर्चमा स्थानीय तहको बजेट दुरुपयोग गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । भनिएको छ, ‘स्थानीय तहको खर्चबाट अनावश्यक भ्रमण गरेको प्रति खेद व्यक्त गर्दछौँ ।’

तस्विर सौजन्यः सन्तोष रिमालको फेसबुक

dav

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।