७ जेठबाट त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन

 अावाज स‌‌वाददाता     २ जेष्ठ २०७५, बुधबार

त्रिभुवन विमानस्थल ७ जेठबाट २१ घन्टा सञ्चालन गर्ने तयारी गरेको छ । मंगलबार पर्यटनमन्त्री अधिकारीले विमानस्थलमा कार्यरत कर्मचारीसँग विमानस्थल सञ्चालनमा रहेको चुनौतीबारे छलफल गरेका छन् । छलफलमा कर्मचारी युनियनका प्रतिनिधिले एकातर्फ कर्मचारी अभाव रहेको र अर्कोतर्फ सेवा–सुविधा कम रहेको भन्दै विमानस्थल २१ घन्टा सञ्चालनमा चुनौती रहेको बताएका थिए ।

जवाफमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने गरी डिजाइन गरिएको कर्मचारी दरबन्दीको संख्यालाई लिएर अहिले नै अभाव भयो भन्न नमिल्ने बताए । उनले २१ घन्टा विमानस्थल सञ्चालनका लागि पूर्ण तयारीमा लाग्न कर्मचारीलाई निर्देशन दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नकारात्मक सोच त्यागेर आफ्नो काममा इमानदार हुने कर्मचारीलाई निर्देशन दिए । सरकारको नीति र योजनालाई कार्यान्वयन गर्नु कर्मचारीको दायित्व हुने भन्दै उनले आफूले रोजेर आएको काममा रमाउनुपर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF