नेकपा गठनबारे के भन्छन् अन्य दल ?

 अावाज स‌‌वाददाता     ४ जेष्ठ २०७५, शुक्रबार

 

आत्तिँदैनौँ, हडबडाउँदैनौँ 
डा. प्रकाशशरण महत, सहमहामन्त्री, कांग्रेस
दुई कम्युनिस्ट पार्टी एक भएकोमा शुभकामना दिन चाहन्छौँ । हिजो अलग पार्टीका रूपमा हुँदा पनि हामीले प्रतिस्पर्धा गर्दै आएका हौँ, फेरि पनि हुन्छ । अहिले एक भएकाले उनीहरूले हामीलाई उछिनेका छन् । तर, हामी आत्तिँदैनौँ, हडबडाउँदैनौँ ।

देशलाई निकास र विकास दिए सकारात्मक
सिपी मैनाली, महासचिव, नेकपा माले
पार्टी एक भएर ठूलो कम्युनिस्ट पार्टी बनेपछि अब स्थिर सरकार, स्वावलम्बी देखियोस् । आर्थिक रूपमा सम्पन्न देश बनाउने, प्रभावकारी विकास गर्ने, बाह्य शक्तिको हस्तक्षेप हुन नदिने ढंगले अघि बढ्ने हो भने यो एकीकरणलाई सकारात्मक मान्न सकिन्छ । साझा कुरामा सहकार्य हाम्रो हुन सक्छ ।

समर्थनमा वक्तव्य जारी गर्छौँ
चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
चुनावमा सहकार्य गर्दा पार्टी एकतासमेत गर्ने कुरा भएको थियो । जनताका अगाडि गरेको वाचा पूरा गर्नुपर्छ भनेर हामीले भन्दै आएका थियौँ । त्यसैअनुरूप उनीहरूले एकता गरेका छन्, स्वागतयोग्य छ । हामी समर्थनमा वक्तव्य जारी गर्छौँ । हामी सहकार्य गर्छौँ, तर पार्टी एकताको सोचाइमा छैनौँ ।

सकारात्मक रूपमा लिएका छौँ 
उपेन्द्र यादव, 
अध्यक्ष, संघीय समाजवादी फोरम
लामो समयदेखि टुटफुटको राजनीति गर्दै आए पनि अहिले दुई ठूला कम्युनिस्ट दल मिलेकामा हाम्रो दलले सकारात्मक ठानेको छ । यो पार्टीले देशको हित र समृद्धिका लागि काम गरोस् ।

अरूले पनि सिक्नुपर्छ
महेन्द्र राय यादव
अध्यक्षमण्डल सदस्य, राजपा
लामो टुटफुटको शृंखला भोगेका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिल्नु खुसीको कुरा हो । संघीयता, लोकतन्त्रलाई बलियो बनाउन दलहरू मिलेरै अगाडि बढ्नुपर्छ । उहाँहरूको अभ्यासबाट अरूले पनि सिक्नुपर्छ ।

दक्षिणपन्थी संशोधनवादी गठजोड
मोहन वैद्य, महासचिव
नेकपा क्रान्तिकारी माओवादी
माओवादी केन्द्र दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमाले प्रतिक्रियावादमा समाहित भएको छ । यो दक्षिणपन्थी संशोनधवादी गठजोड हो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको ट्विट
एमाले–माके एकता हुन लागेकोमा दुवैलाई बधाई र शुभकामना । तर, केही अनुत्तरित प्रश्न : के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ, माइनस एकको मूल्य धेरै कि माइनस दुईको ? सर्वहारा अधिनायकत्व छाडेपछि कम्युनिस्ट नाममा मोह किन ?

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF