नेपाली सेनाद्वारा रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक हस्तान्तरण

 अावाज स‌‌वाददाता     ६ जेष्ठ २०७५, आईतवार

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक नेपाली सेनाले हस्तान्तरण गरेको छ। सडकको ट्रयाक निर्माण कार्य सम्पन्न गरेसँगै आज स्याफ्रुमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोध देवकोटालाई निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

नेपाली सेनाको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि दुई लेनको १७ किलोमिटर सडकको निर्माण कार्य सुरु गरेको थियो। मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको नेपाली सेनाले जनाएको छ।

सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो। १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकाारी दिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF