प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड, पुराना सवारीको कर बढाइयो

 अावाज स‌‌वाददाता     २ असार २०७५, शनिबार

प्रदेश ३ ले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को वार्षिक बजेट ल्याएको छ। प्रदेश  ३ ले आगामी आवका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको हो।

कुल विनियोजित बजेटमध्ये पूँजीगत तर्फ ६१ दशमलब ०८ प्रतिशत बजेट विनियोजन गरेको छ भने चालूतर्फको ३८ दशमलब ९२ प्रतिशत छ।

पुँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश ३ ले १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार रुपैयाँ चालूतर्फ छुट्याएको छ।

अगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार रुपैयाँ, संघीय समानीकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार रुपैयाँ, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख रुपैयाँ र नगद मौज्दात ७० करोड रुपैयाँको जोहो गरिने बजेट वक्तव्यमा उल्लेख छ।

 प्रदेशभित्र दर्ता भएका १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा १४ वर्षभन्दा बढीको प्रत्येक वर्षका लागि ५ प्रतिशतका दरले थप कर असुल गरिने व्यवस्था बजेटमा गरिएको छ।

वातावरण प्रदूषण न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ। यसअघि सरकारले २० वर्षभन्दा पुराना सवारी साधन विस्थापन गर्ने निर्णय गरिसकेको छ।

प्रदेश कर विभाग तथा कर प्रणाली स्थापना गर्न आगामी वर्षमा विज्ञसहित कार्यदल गठन गरी अध्ययन गराइने व्यवस्था बजेटमार्फत गरिएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF