माथिल्लो तामाकोशीको शेयर आवेदन समय हेरफेर

साउन १६ देखि भदौ १४ सम्म आवेदन दिन पाउने

 आवाज अनलाइन     २० असार २०७५, बुधबार

दोलखा, २० असार
बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीका लागि आब्ह्वान गरेको शेयरको समय तालिका हेरफेर गरिएको छ । दोलखाबासीको माग बमोजिम र जिल्ला समन्वय समिति तथा स्थानीय सरकारले माग गरेअनुसार शेयरका लागि आवेदन दिने समय परिवर्तन गरिएको हो ।
परिवर्तत तालिका अनुसार दोलखावासीका लागि शेयर दरखास्त दिन पाउने अवधि न्युनतम १ महिनाको कायम गरी साउन १६ गतेदेखि भदौ १४ गतेसम्मका लागि निर्धारण गरिएको छ । जिल्लाबासीको माग र शेयर हाल्नको लागि निर्धारित समय अनुपयुक्त भएकोले समय हेरफेरको लागि निर्णय गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
यसअघि स्थानीय दोलखाबासीले शेयर हाल्नको लागि आवेदन दिन पाउने समय असार २४ गतेदेखि साउन ९ गतेसम्म तोकी सूचना प्रकाशित गरिएको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय निकायका प्रमुखहरु बैठकले शेयर निष्काशनको समय तालिका परिवर्तन गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकले असार २४ गतेदेखि शेयर आब्ह्वान खुल्ला गरेकोमा हाल प्रकाशित सूचनालाई संशोधन गर्न नेपाल धितोपत्र बोर्ड र अपर तामाकोशी हाईड्रोपावर कम्पनीलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले बिभिन्न पेशा व्यवसाय वा अन्य कार्यका लागि देशको राजधानी काठमाण्डौमा रहेका दोलखावासीहरुले पनि आफू रहेको स्थानबाट सहज रुपमा शेयर दरखास्त दिन पाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतमले जानकारी दिए । बैठकले जिल्लाका ७४ वटै वडामार्फत शेयर संकलन गर्ने व्यवस्था मिलाउन र परिवारको एक जनाको बैँक खाता भएमा सो मार्फत नै परिवारका सबै सदस्यले शेयर दरखास्त पेश गर्न पाउने व्यवस्था मिलाउन धितोपत्र बोर्ड र आयोजनालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
दोलखाका प्रदेशसभा सांसदद्धय पशुपति चौलागाईँ र बिशाल खड्काले पनि प्रदेश सभा बैठकमा तत्कालका लागि शेयर आव्ह्वानको समय उपयुक्त नभएको भन्दै सच्याउन माग गरेका थिए । यस्तै जिल्लाका नागरिक समाजका अगुवाहरुले पनि प्रतिकुल समयमा शेयर निश्काषन भएको भन्दै स्थगित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।